१८ करोडको लागतमा १०१ साना सिँचाइ योजना सम्पन्न

<p>हेटौँडा । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले मकवानपुरमा ३८ करोड ९८ हजार विनियोजित रकममध्ये १७ करोड ८९ लाख ४७ हजार रुपैयाँको लागतमा योजना सम्पन्न गरेको छ । कार्यालयका अनुसार उक्त लागतमा मकवानपुरमा रहेका १ सय ९१ योजनामध्ये १ सय १ योजना सम्पन्न भएका छन् । मकवानपुर जिल्लामा हालसम्म ६२ हजार १७ सय हेक्टर [&hellip;]</p>


हेटौँडा । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले मकवानपुरमा ३८ करोड ९८ हजार विनियोजित रकममध्ये १७ करोड ८९ लाख ४७ हजार रुपैयाँको लागतमा योजना सम्पन्न गरेको छ । कार्यालयका अनुसार उक्त लागतमा मकवानपुरमा रहेका १ सय ९१ योजनामध्ये १ सय १ योजना सम्पन्न भएका छन् ।

मकवानपुर जिल्लामा हालसम्म ६२ हजार १७ सय हेक्टर खेतीयोग्य जमिन भए पनि २० हजार हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको छ । चालु आवको अन्तिमसम्ममा पुराना तथा नयाँ सिँचाइ योजना सम्पन्न भएमा १ हजार ५० हेक्टर थप जमिन सिञ्चित हुने कार्यालयले जनाएको छ ।

सम्पन्न योजनाअन्तर्गत नदी नियन्त्रणतर्फ चार, सिँचाइसम्बन्धी ८०, मझौला सिँचाइ योजना एक तथा अन्य १५ योजना छन् । योजनाअन्तर्गत चालु आर्थिक वर्षको हालसम्म पाँच हजार मिटर कुलो, साता कलभर्ट, दुई पक्की सिँचाइ मुहान, तीन सिँचाइ पुल निर्माण, १ सय २४ मिटर जाली निर्माण, ३ हजार ३ सय ७६ जाली बाँध निर्माण, २ हजार ३ सय ८० मिटर बाँध निर्माण, ६ हजार ४ सय ५० मिटर लामो पाइपबाट सिँचाइ कुलो निर्माण भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख निर्मल दाहालले जानकारी दिए ।

पुरानो नहरको संरचना मर्मतबाट पाँच सय हेक्टर जमिन तथा थप नयाँ सिँचाइ योजनाबाट दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको प्रमुख दाहालले बताए । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ विकास मन्त्रालयले दुई वर्ष अगाडि प्रदेशका १३ जिल्लामा खेतीयोग्य जमिन तथा त्यहाँ उपलब्ध सिँचाइ सुविधाबारे सर्भे गरेको थियो ।

Share News