काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदरमा ठूलो परिवर्तन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको फागुनको तुलनामा चालु आवको फागुनमा ब्याज ठूलो अन्तरले घटेको हो ।
बैंकको कर्जाको ब्याज १७.२६ प्रतिशतले घटेको छ भने निक्षेपको ब्याजदर १९.४७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको फागुनसम्म औसत १३.०३ प्रतिशत रहेको कर्जाको ब्याजदर चालुआवको फागुनमा १०.७८ प्रतिशत कायम भएको छ । विगतको तुलनामा बैंकको ऋणको ब्याज घट्दै गएको छ ।
यस्तै, गत आवको फागुनमा औसत ८.३७ प्रतिशत रहेको बैंकको निक्षेपको ब्याजदर चालु आवको फागुनमा ६.७४ प्रतिशत कायम भएको छ । औसतरूपमा बैंकको ब्याजदर ६.७४ प्रतिशत भए पनि बिन्दुगतरूपमा बैंक तथा वित्तीय संस्थाले तलमाथ नै हुन्छ ।
२०७९ फागुनमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.३३ प्रतिशत रहेकोमा २०८० फागुनमा ३.०२ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ फागुनमा ७.१८ प्रतिशत रहेकोमा २०८० फागुनमा २.९२ प्रतिशत रहेको छ ।
२०८० फागुनमा वाणिज्य बैंकहरुको औसत आधार दर ८.७७ प्रतिशत, विकास बैंकहरुको १०.७१ प्रतिशत र वित्त कम्पनीहरुको १२.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.६४ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यस बैंकबाट स्थायी तरलता सुविधामार्फत १ अर्ब २० करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधामार्फत ५ खर्ब ६१ अर्ब ४१ करोड गरी कुल ५ खर्ब ६२ अर्ब ६१ करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन् । निक्षेप संकलन बोलकबोलमार्फत ५ खर्ब ९३ अर्ब ५ करोड र स्थायी निक्षेप सुविधामार्फत ५ खर्ब ६६ अर्ब ८० करोड गरी कुल ११ खर्ब ५९ अर्ब ८५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणहरुमार्फत खुद ३६ खर्ब ९२ अर्ब २८ करोड तरलता प्रवाह गरिएको थियो ।