काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते बुधवार हुने भएको छ ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकले उपाध्यक्षको निर्वाचन मिति तोकेको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन चैत्र २८ गते बुधवारका लागि तोकेको घोषणा गरे । उनले नियमावली बमोजिम संघीय संसदको महासचिव पद्यप्रसाद पाण्डेयलाई उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिए ।
उनले भने, ‘मान्य सदस्यहरु, राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनको लागि संवत २०८० चैत्र २८ गते बुधवारको दिन तोकेको छु । साथै नियमावली बमोजिम संघीय संसदको महासचिव श्री पद्यप्रसाद पाण्डेयलाई उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिन्छु ।’
राष्ट्रिय सभाको अर्को बैठक चैत्र २८ गते बुधवार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।