काठमाडौं । सर्वोच्च अदालतको आदेशले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएसँगै उनलाई राहात मिल्ने भएको छ । यसअघि विभिन्न शक्तिकेन्द्र धाउँदै अनुमति नपाएर बरालिँदै सडकमा उत्रिएका प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिइएसँगै अब उनलाई राहात मिल्ने देखिएको हो ।
झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजको सम्पूर्ण भौतिक संरचना निर्माण भएपनि पठनपाठनका लागि सम्बन्धन नपाएका प्रसाईं आफ्नो अर्बौंको सम्पत्ति डुब्ने चिन्तामा थिए । अदालतले बुधबार प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएपछि उनलाई अब कलेज सञ्चालनका लागि बाटो खुलेको हो ।
सबै पूर्वाधार तयार गर्दा पनि आफ्नो मेडिकल कलेजले सम्बन्धन नपाएको भन्दै प्रसाईले काठमाडौँ विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
प्रसाईंले मेडिकल कलेज सञ्चालन गर्न नदिएको भन्दै केही समयअघि सबै भौतिक संरचना भत्काइदिने चेतावनी समेत दिएका थिए । उनले सोही मेडिकल सञ्चालनका लागि बैंकहरुबाट अर्बौं ऋण समेत लिएका छन् । सो कलेज सञ्चालनपछि मात्रै किस्ता तिर्ने सहमतिअनुसार उनले ऋण लिएका थिए । तर, सरकारले सो मेडिकल कलेजलाई सम्बन्धन नदिएपछि उनले बैंकबाट लिएको ऋणको साँवा ब्याज समेत तिरेका थिएनन् ।
बैंकहरूले बारम्बार ऋण तिर्न ताकेता गरेपछि उनी बैंक तथा वित्तीय संस्थाविरूद्द नै सडकमा उत्रिएका छन् । मेडिकल कलेजको सम्बन्धन पाउनका लागि उनले विभिन्न राजनीतिक दल तथा नेताहरूलाई गुहारे पनि । सुरुमा नेकपा माओवादी केन्द्र र सो दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजिक रहेर काम गरेका उनी पछि सो पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सँगै राखेर मार्सी चामलको भात खुवाएर पनि उनी चर्चामा आएका थिए । धेरैले उनलाई ‘मार्सी चामल’ उपनामले चिन्छन् । ओली र प्रचण्डसँग नजिक रहेर काम गर्दा पनि मेडिकल कलेजको सम्बन्धन नपाएपछि उनले उनीहरूको आलोचना गर्दै पार्टी परित्याग गरेका थिए ।
पछिल्लो समय प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा बैंक र लघुवित्तविरुद्ध अभियान चलाउँदै आएका छन् । उनले बैंक तथा लघुवित्तको ऋण तिर्न नहुने भन्दै अराजक अभियान अगाडि बढाएका छन् । मेडिकल कलेजकै सम्बन्धन नपाएर अराजक अभियान अगाडि सारेका उनकाे मेडिकल कलेजलाई अदालतले सम्बन्धन दिने आदेश दिएसँगै सो अभियानलाई उनी छोड्छन् या थप अगाडि बढ्छन् भन्ने विषय हेर्न बाँकी नै छ ।
तर, यो बिचमा उनले बैंकरहरूमाथि कालोमोसो दल्नेदेखि बैंक घेराउ गर्नेसम्मका अराजक गतिविधि पनि गरे । उनले सार्वजनिक रूपमा बैंकरलाई ‘जहाँ भेट्यो त्यही पिट्ने’, ऋण नतिर्ने र बैंकर टाई लगाएका गुण्डा लगायत अभिव्यक्ति दिँदै समाजमा एक किसिमको बिचलन उत्पन्न गराएका छन् । उनको यो सबै अभिव्यक्ति र गतिविधि पछाडि उनको मेडिकल कलेजको सम्बन्धन थियो । अब उनले आफूले चाहेको माग प्राप्त गरेका छन् ।
२०७६ सालमा चिकित्सा आयोगमा बी एन्ड सी सम्बन्धनका लागि गएको थियो । तर, २०७३ सालदेखि आशयपत्र नवीकरण नगरेको र काठमाडौं विश्वविद्यालयको सहमति नलिएको भन्दै आयोगले सम्बन्धन दिन अस्वीकार गरेको थियो ।