अध्यक्ष ओली र दाहालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नाममा एकै पार्टी भएर सरकार र पार्टी चलाउँदाका आन्तरिक विवाद मिलाउन नसक्दा दुईपटक संसद् विघटन (२०७७ पुस ५ र २०७८ जेठ ८) सम्मको घटना हुनु, अध्यक्ष ओली तथा अध्यक्ष दाहाल, नेता एवं पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीच बेमेल बढ्नुले पार्टी विभाजन भएको बताइएको छ ।
विगतमा पनि एकता–विभाजन–एकताको अनुभव बोकेका कम्युनिष्ट पार्टीहरू ती गल्तीबाट माथि उठेर अब पुनः नयाँ शिराबाट सहयात्रामा अग्रसर भएका हुन्–होइनन् ? अहिले नै ठोकुवा गर्ने आधार त छैन र तर नेताहरूले चाहेमा त्यो असम्भव नदेखिएको टिप्पणी गरिएको छ । नयाँ गठबन्धन भएकै दिन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले वामपन्थी दलहरूबीच पुनः सहायात्रा र एकताको लक्ष्यसहित आफूहरू अघि बढेको सार्वजनिक अभिव्यक्ति दिनुबाट लामो यात्राकै सङ्केत बुझ्न सकिन्छ ।
वामपन्थी बुद्धिजीवी श्याम श्रेष्ठले सिद्धान्त, विचार र कार्यक्रमका आधारमा सहयात्रा गर्न कार्यदलस्तरमा तयारी गरेर लिखित दस्तावेजका साथ आएमा यो गठबन्धन दिगो बन्ने जनाउँदै कांग्रेस र माओवादी केन्द्रको तुलनामा एमाले र माओवादी केन्द्रको सहयात्रा सहज हुने बताए । ‘तर फागुन २१ गतेको चार दलका शीर्षनेताहरूको सहमतिपत्रमा रुपान्तरणकारी कार्यक्रम देखिएको छैन । सैद्धान्तिक र वैचारिकरूपमा सवल र एकीकृत भएर देश र जनताका समस्या सम्बोधन गर्ने हो भने त्यस लयमा जानुपर्छ । नत्र केवल मन्त्रालयको भागबण्डामा सीमित भएको देखिन्छ र भागबण्डा नमिल्दा गठबन्धन टुट्न पनि सक्छ’, नागरिक अभियन्ता श्रेष्ठले भने, ‘टाउको (विचार) नमिलाई टुपीमात्रै बाँधेर लामो सहयात्रा हुँदैन । शरीर (सङ्गठन) र खुट्टा (हिँड्ने बाटो) पनि मिलाउनुपर्छ । त्यसो भएमा यसलाई सानातिना हुरीले ढाल्न सक्दैन ।’
नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष प्रा डा दिनेशचन्द्र देवकोटाले विकसित राजनीतिक घटनाक्रम ‘पुस १०’ कै निरन्तरताअन्तर्गत विकसित भएकाले यसले वाम, लोकतान्त्रिक र रुपान्तरणकारी शक्तिलाई सहयात्रामा ल्याएको टिप्पणी गरे । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा देवकोटाले राष्ट्रियता, विकास र समृद्धिका आधारमा यो गठबन्धन आवश्यक भएकाले यसप्रति सकारात्मक हुन सकिने बताए ।
वाम विश्लेषक एवं स्तम्भकार झलक सुवेदीले प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीले विगतका ‘इगो’लाई भुलेर नयाँ गठबन्धन टिकाउन सकेमा यसले सकारात्मक ‘भाइब्स्’ निर्माण गर्ने बताए । ‘आगामी २०८४ सालमा हुने निर्वाचनमा वाम गठबन्धन या पार्टी एकताका माध्यमबाट जान सकिने गरी लागेमा यो गठबन्धनको लाभ एमाले–माओवादी केन्द्र दुवैले लिन सक्छन् । देश र जनताका लागि पनि सकारात्मक नै हुनेछ’, उनको भनाइ छ ।
प्रधानमन्त्री दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्षनेताहरूले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई मङ्गलबार साँझ भेटवार्ता गरी सरकारमा सामेल हुन आग्रह गर्नुले वामपन्थी दलहरूबीच टुटेको लय फेरि मिलाउन भने खोजेको देखिएको छ । रासस