औपचारिक प्रस्ताव आए सरकारमा संलग्न हुन्छौँ : झलनाथ खनाल

<p>काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताएका छन् । नेता खनालले नयाँ गठबन्धनले सरकारमा सहभागिताको लागि औपचारिक प्रस्ताव गरेमा आफूहरु सरकारमा संगल्न भएर अगाडि जानसक्ने बताएका छन् । मंगलवार अपरान्ह डल्लुस्थित आफ्नै निवासमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सरकारमा सहभागी हुनका लागि [&hellip;]</p>

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताएका छन् । नेता खनालले नयाँ गठबन्धनले सरकारमा सहभागिताको लागि औपचारिक प्रस्ताव गरेमा आफूहरु सरकारमा संगल्न भएर अगाडि जानसक्ने बताएका छन् । मंगलवार अपरान्ह डल्लुस्थित आफ्नै निवासमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सरकारमा सहभागी हुनका लागि सत्तारुढ गठबन्धनले आफ्नो पार्टीसँग सम्मानजनक ढंगले वार्ता गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

‘यदि यो प्रोसेसमा हाम्रो पार्टीलाई संलग्न गर्नुपर्छ भन्ने आवश्यकता यो परिवर्तन गर्ने पार्टीहरुको बीचमा त्यो समझदारी बन्यो । हामीसँग पनि वार्ता भयो । र एउटा सम्मानजनक ढंगले सहमती गरेर जाउ भन्ने खालको कुरा आयो भने हामी त्यसलाई अस्वीकार गर्दैनौं’, उनले भने, ‘ यसलाई सकारात्मक ढंगले नै लिन्छौं तर, हामीलाई संलग्न गरिदिनोस भनेर त्यो याचना गर्न चाहीँ जाँदैनौं ।’

बुधवार (भोलि) बिहान सो पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । नेता खनालले नीतिगत, कार्यक्रमिक, योजना र भिजनमा गठबन्धनले यसरी जान्छौं भन्ने खाका प्रस्तुत गरे सरकारमा जान कुनै समस्या नहुने प्रारम्भिक प्रतिक्रिया नेता खनालले दिएका छन् । सरकारमा जानका लागि सत्तारुढ गठबन्धनसँग याचना नगर्ने उनले बताएका छन् । साथै उनले सत्तारुढ गठबन्धनले सहमतिका साथ जानका लागि गरिएको प्रस्ताव आफ्नो पार्टीले अस्वीकार नगर्ने पनि बताए ।

‘हामी साझा सवालमा वामपन्थी एकता गरेर जानुपर्छ भन्ने कुरामा उत्तिकै दृढ छौं । र साझा सवाल हामीमाझ प्रचुर विद्यमान छन् । यी कुराहरुमा एकताका लागि हाम्रो प्रयत्न फेरि पनि जारी रहन्छ । हामी उहाँहरुले औपचारिक रुपले हाम्रो पार्टीलाई पनि सरकारमा संलग्न गर्नेकुरा गर्नुभयो । सम्मानजनक ढंगले हाम्रो पार्टीसँग वार्ता भयो । र हामी नीतिगत कुरामा, कार्यक्रमिक कुराहरुमा, योजनाका कुराहरुमा र भिजनका कुराहरुमा यसरी जान्छौं भन्ने कुरा हामी बीचमा भयो भने हामी सरकारमा संलग्न भएर पनि जान्छौं’, नेता खनालले भने ।

नेता खनालले आफ्नो पार्टीले वाम एकताको पक्षमा भईरहेको प्रयत्नलाई झनै प्रखर ढंगले अघि बढाउने बताए । उनले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकलाई संकटबाट जोगाउने आशा आफूहरुमा पलाएको समेत बताएका छन् ।

Share News