काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुखसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । नापी कार्यालय कलङ्कीमा कार्यरत २ जना र धनुषा सहिदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
जग्गा हाल साविक गरी पुर्जा उपलब्ध गराउने कामका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा नापी कार्यालय कलङ्कीमा कार्यरत सर्वेक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नापी कार्यालय कलङ्कीमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवामा काम गर्ने नेत्रबहादुर पोखरेलले जग्गा हाल साविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराउने प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख रुपैयाँ बराबरको घुस लिँदै गरेको बेला आयोगले पक्राउ गरेको थियो ।
लेखापढी व्यवसायी पोखरेलले १ लाख रुपैयाँ घुस लिएको र त्यसमध्ये ५० हजार रुपैयाँ चौलागाईलाई बुझाएको आयोगको भनाइ छ । आयोगले उनीहरुविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
यस्तै, आयोगले धनुषा सहिदनगर नगरपालिका आर्थिक वर्ष २०७७/७८ मा स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरी खरिद गरेको तथा गुणस्तरयुक्त नभएको पाइएको भन्दै आयोगले आज तत्कालीन नगर प्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन नगरप्रमुख उदयकुमार यादव, तत्कालीन नगर उपप्रमुख शिलादेवी कामपर, प्रमुख प्रशासकीय अधिकृत शत्रुध्न यादव, लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदीपकुमार भट्टराई, स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारीविरुद्ध १३ लाख ९३ हजार ६८७ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
आयोगले सहिदनगर नगरपालिका धनुषाका तत्कालीन सव–इञ्जिनियर सरोजकुमार महत्तो, रेजा टे«डिङ प्रालि धनुषाका प्रोपाइटर अकवर मन्सुरविरुद्ध पनि १३ लाख ९३ हजार ६८७ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।