काठमाडौं । सेल्स बेरी डिपार्टमेन्ट स्टोर र सेल्स बेरी एक्स्प्रेस सञ्चालन गर्दै आएको सेल्सवेज क्यास एण्ड क्यारी प्रा.लि. (एससीसी) ले एक वर्षमा २५.४० प्रतिशतले आफ्नो व्यापार बढाएको छ । गत आर्थिक वर्ष २०२२ को तुलनामा आर्थिक वर्ष २०२३ मा कम्पनीको आम्दानी २५ प्रतिशत अर्थात ५७ करोड १० लाख रुपैयाँले बढेको हो ।
कम्पनीको अपरिस्कृत विवरण अनुसार २०२३ मा सेल्सवेजले २ अर्ब ८१ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जबकी कम्पनीले २०२२ मा २ अर्ब २४ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०२१ मा यस्तो आम्दानी २ अर्ब रुपैयाँ मात्रै थियो ।
सेल्सवेज एक रिटेल कम्पनी हो, जसले सेल्स बेरी डिपार्टमेन्ट स्टोर र सेल्स बेरी एक्स्प्रेसको ब्राण्डबाट ३१ वटा डिपार्टमेन्ट स्टोर्सहरु सञ्चालन गर्दै आएको छ । उक्त स्टोर्सहरु काठमाडौं, ललितपुर र पोखरा गरी तीन जिल्लामा रहेका छन् ।
सन् २०१४ मार्चमा एउटा प्राइभेट कम्पनीको रुपमा स्थापना भएको कम्पनी हो, सेल्सवेज । जसको प्रमुख सेयरधनीको रुपमा सुशीलमान प्रधानाङ्ग र सृजना श्रेष्ठ रहेका छन्, जसको क्रमशः ५१ र ४९ प्रतिशत सेयर रहेको छ । साथै, प्रधानाङ्ग कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत हुन् ।
कम्पनीले हालै २ अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको कर्जाको लागि इक्रा नेपालमा रेटिङ्ग गराएको छ । इक्रा नेपालले दीर्घकालिन अवधि अर्थात एक अर्ब ४४ करोड २४ लाख रुपैयाँको कर्जाको लागि इक्राएनपी एलबी प्लस रेटिङ्ग दिएको छ भने बाँकी एक अर्ब एक करोड कर्जा (अल्पकालिन अवधि) को लागि इक्राएनपी एफोरको रेटिङ्ग दिएको छ ।
यसअघि पनि कम्पनीले एक अर्ब ७० करोड ५४ लाख रुपैयाँ बराबरको कर्जाको लागि रेटिङ्ग गराएको थियो ।