
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको सिफारिसको लागि बनाइएको सिफारिस समितिले कार्यविधि निर्माण गर्ने काम सम्पन्न गरेको र आवेदनका लागि सूचना प्रकाशन गर्ने चरणमा काम भइरहेको जनाएको छ । सिफारिस समितिले कार्यविधि निर्माण गर्ने काम सम्पन्न गरेको एक दुई दिनमा नै सूचना प्रकाशन गर्ने तयारी गरिरहेको समितिका एक सदस्यले विकासन्युजलाई बताए ।
गत पुस २० मा कार्यकाल सकिएपछि रिक्त भएको बोर्डको अध्यक्ष नियुक्तिको लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर रायमाझीको संयोजकत्वमा माघ ४ गते सिफारिस समिति गठन गरेको थियो । पुँजी बजारको नियामक निकायको रुपमा महत्वपूर्ण काम गर्नुपर्ने बोर्डको कार्यकारी अध्यक्ष पद लामो समयदेखि रिक्त राखिँदा सम्बन्धित क्षेत्रका व्यक्तिहरुले आलोचना गर्न शुरु गरेका थिए ।
सिफारिस समितिमा रहेका शंकरदेव क्याम्पसरका प्राध्यापक उदय निरौलाले सोमबार कार्यविधि बनाउने काम सकिएको बताए । ‘अहिले हामी त्यही काम गरिरहेका छौं, कार्यविधि बनाउने काम सकिसक्यौं, भोलि वा पर्सीमा नै सूचना निकाल्छौं’, उनले भने ।
सरकारले प्रत्येकपटक बोर्डको कार्यकारी अध्यक्ष नियुक्ति गर्दा कार्यविधि परिवर्तन गर्ने गर्छ । पूरानो कार्यविधिमा केही नयाँ थप्नुपर्ने विषय थपेर अन्तिम टुंगो दिइएको समितिका सदस्य तथा प्राध्यापक निरौलाले बताए । तर, के कस्तो नयाँ व्यवस्था गरिएको भन्ने विषयमा भने उनले केही बताएनन् ।
लामो समयदेखि बोर्डमा अध्यक्ष नियुक्ति नभएपछि ठूलो संख्यामा आइपिओ जारी गर्न प्रस्ताव गरेका मागहरु पाइपलाइनमा रहन पुगेका छन् । साथै बोर्डले गर्नुपर्ने सम्पूर्ण नीतिगत कामहरु र विकासका कामहरु रोकिएको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताएका छन् । हाल बोर्डमा आइपिओ निष्काशनको लागि झण्डै २० वटा कम्पनी पहिलो समीक्षाको लागि पाइपलाइनमा छन् ।