काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले झापाका चन्द्रगढी नापी कार्यालयका तत्कालीन नापी अधिकृत राम देव मण्डल धानुकसमेत १८७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरुले सरकारी सार्वजनिक जग्गा स्वबासी जग्गादर्ता प्रक्रियाबाट व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आयोगले बताएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार झापाको साविक दमक ६ग हाल दमक नगरपालिका वडा नं. १३ र १४ मा पर्ने बालुवाटारको रतुवा र दिपिनी खोलाको दोभानको सार्वजनिक जग्गा अतिक्रमण गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार कि.नं. ७६०,७६१,७६२,७७३,७८३,७८४,७८६,७८७,७८८ र साविक दमक ६ग र दमक ५ख बिचको मार्जिनका जग्गाहरू २०२१ सालको शुरु नापीमा सरकारी सार्वजनिक भए पनि स्वबासी प्रक्रियाबाट जग्गादर्ता गरेको पाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार मिलोमतोमा ९२८ बिगाहा १७ कठ्ठा १३ धुर (९३८४ रोपनी ८ आना १ दाम) व्यक्ति विशेषको नाममा दर्ता कायम गरेको हो । जसको न्यूनतम मूल्यांकन ४१ करोड ६२ लाख १९ हजार ८ सय एक रुपैयाँ रहेको छ ।
आयोगले नापी कार्यालय, चन्द्रगढीका कर्मचारी ९ जना, सरकारी सार्वजनिक जग्गा गैरकानूनी तरिकाले स्ववासी जग्गादर्ता प्रक्रियाबाट आफ्नो नाममा दर्ता कायम गरेका शुरु जग्गा दर्तावाला ६५, र बिगो असुल उपर तथा जग्गा जफत प्रयोजनका लागि मात्रै ११३ लाई प्रतिवादी बनाइएको छ ।
[pdf id=466112]