काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छिन् ।
आईतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शुन्य भएको बताइन् । उनले सरकार असफल भएको भन्दै काम गर्न नसके राजीनामा दिन मन्त्रीहरुलाई आग्रह गरिन् । आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटक-पटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
उनले जनताको प्रत्यक्ष मतबाट निर्वाचित सांसदलाई भेट नदिएर मन्त्रीहरु कसलाई भेट्छन् ? भनि प्रश्न समेत गरिन् । प्रदेश सरकारले विकास निर्माणको काममा सहजीकरण गर्नुपर्ने भएपनि प्रदेश सरकारको त्यस्तो भुमिका हुन नसकेको बताइन् । यो काम यसले र त्यसले गर्ने भनेर सबै तहको सरकार पन्छिने गरेको भन्दै प्रदेश संरचनाको कारण झनै अफ्ठारो परेको जानकारी दिइन् ।
‘पटक पटक मन्त्रालयमा मन्त्री भेट्न आउँछु । भेट्न समय दिनुहुन्न । सांसद, जो जनताको आवाज बोकेर आएको छ, जनताको प्रत्यक्ष मत लिएर आएको छ । जनताहरुका मुद्दाहरु लिएर गयो । भेट्न समय पाइदैनँ । प्रत्यक्ष निर्वाचित भएका सांसदहरुलाई भेटन्को लागि, कुरा सुन्न समय छैन भने के गरेर बस्छन् मन्त्रीहरु ? राजीनामा दिए हुन्छ । यस्तो मन्त्रीहरुको काम छैन । यस्तो सरकारको काम छैन । सरकारको काम शुन्य भयो । लगभग लगभग यो सरकार असफल भयो । सरकार असफल हो काम गर्न नसक्ने भए राजीनामा दिएर गए हुन्छ’, उनले भनिन् ।
उनले ठूला पार्टीहरु संसदमा एकले अर्कोलाई आरोपित मात्रै गरिरहेका बताइन् । वर्तमान प्रदेश संरचनालाई सुधार्नेतर्फ छलफल केन्द्रीत गर्नुपर्ने बताइन् ।