काठमाडौं । नेपाल बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ४९.६० प्रतिशत घटेर ५९ करोड ५१ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
पछिल्लो समय बैंकको खराब कर्जा (एनपीएल)बढेका कारण नाफामार असर परेको देखिन्छ । यस अवधिमा बैंकको खराब कर्जा १.३९ प्रतिशत बढेर ४.५ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ३.११ प्रतिशत खराब कर्जा थियो ।
पुस मसान्तसम्ममा बैंकको ब्याज आम्दानी २०.४० प्रतिशत बढेर ४ अर्ब ६३ करोड ४० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी ३७.८१ प्रतिशत बढेर ५५ करोड ३८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २२.७८ प्रतिशत बढेर ५ अर्ब ४१ करोड रुपैयाँ, सञ्चालन नाफा ४९.६५ प्रतिशत घटेर ७६ करोड २५ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा ५६ करोड ९० लाख रुपैयाँ ऋणात्मक
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ, जगेडा कोष २.८२ प्रतिशत बढेर २२ अर्ब ४४ करोड ५० लाख रुपैयाँ, निक्षेप संकलन ५.५९ प्रतिशत बढेर २ खर्ब ५८ अर्ब १८ करोड रुपैयाँ र कर्जा प्रवाह १.६८ प्रतिशत बढेर १ खर्ब ८१ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
पुससम्म बैंकको प्रतिसेयर आम्दानी ७.७५ रुपैयाँ घटेर ८.३ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २९.३७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २५२.५४ रुपैयाँ रहेको छ । बैंकको आधार दर ८.५५ प्रतिशत, कस्ट अफ फण्ड ६.४३ प्रतिशत, इन्ट्रेस्ट रेट स्प्रेड ३.८५ प्रतिशत र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७२.६२ प्रतिशत छ ।