
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको सिंहदरबार छिर्न सक्ने पहुँच नभएको बताएका छन् । इप्पानको २४औं वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष कार्कीले इप्पानको सिंहदरबार छिर्ने पहुँच नभएकाले इप्पानको कार्ड देखाएर प्रवेश गर्ने वातावरण मिलाउन आग्रह गरे ।
‘सिंहदरबार छिर्न सक्ने पहुँच पनि भएन इप्पानको’, उनले भने, ‘इप्पानको कार्ड देखाएर सिंहदरबार छिर्न सकिने सहज वातावरण मिलाउनुपर्यो, यसको लागि हामीले पहल गरिरहेका र्छौं ।’
पछिल्लो समयमा देश उर्जामय भएको र आफूहरुसँगै जनता पनि उत्साहित भएको अध्यक्ष कार्कीको भनाइ छ । १० वर्षमा १० हजार मेगावाट विद्युत बिक्री सम्झौता महत्वपूर्ण भएको भन्दै केही बाँकी कामहरु पूरा गर्नुपर्ने उनले बताए ।
उर्जा क्षेत्रमा धेरै छलफल र सहमति भएकाले विकासमा अब ढिलाइ गर्न नहुने उनको भनाइ छ । ‘२०३५ सम्म १३ हजार मेगावाट देशमा खपत गर्ने र १५ हजार मेगावाट निर्यात गर्न सक्यौं भने आर्थिक रुपमा देशलाई ठूलो योगदान पुग्छ’, अध्यक्ष कार्कीले भने, ‘विद्युतको विकासमा धेरै छलफल भए, सहमति पनि भएका छन्, अब उर्जा विकासमा ढिला गर्नुहुँदैन ।’
अध्यक्ष कार्कीले अबको १० वर्ष उर्जा दशकको रुपमा घोषणा गर्नुपर्ने माग गरेका छन् । प्रशासनिक काम गर्न कठिनाई अवस्था कायमै रहेको भन्दै झन्झटिलो प्रकृया सुधार गरेर उर्जा मन्त्रालयमा नै सबै डेस्क खडा गरेर काम गर्नुपर्ने उनले बताए । ‘फाइल बोकेर १४ वटा मन्त्रालय जानुपर्छ, उर्जा मन्त्रालयमा नै डेस्क खडा गरेर सबै काम त्यहिँबाट गर्नुपर्छ, लाइसेन्स लिन नै ५ वर्ष लाग्यो भने हामी हाम्रो लक्ष्यमा पुगिदैन’, उनले भने ।
अहिले अगाडि बढेको विद्युतीय विधेयकमा आफूहरुले पनि सुझाव दिएको भन्दै अध्यक्ष कार्कीले सबै प्रोजेक्टहरुको लाइसेन्सको अवधि २ वर्ष थप्नुपर्ने माग गरेका छन् । बैंकहरुबाट आयोजना सञ्चालनको लागि समयमा नै ऋण नपाएको कारणले पनि लाइसेन्सको म्याद सकिने अवस्था सिर्जना भएको उनको भनाइ छ । साथै, उनले आफूहरु लक्षित गरेर चन्दा माग्न शुरु भइसकेकोले उर्जा सुरक्षा नीतिको पनि आवश्यक रहेको भन्दै वातावरण बनेमा आगामी १० वर्षमा निजी क्षेत्रले नै १० हजार विद्युत उत्पादन गर्नसक्ने बताए ।