काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका केन्दीय कार्यकारिणी सदस्य तथा राजस्व समिति सभापति अम्बिकाप्रसाद पौडेलले सरकारले व्यवसायीलाई पेलेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४ औं वार्षिक साधारण सभामा बोल्दै उनले व्यवसायीको डेढ खर्ब पैसा सरकारले चलाएको भन्दै अर्बाैं रुपैयाँ भ्याट फिर्ता नगरेको गुनासो गरेका हुन् ।
‘डेढ खर्ब रुपैयाँ व्यवसायीको पैसा सरकारले चलाएको छ, व्यवसायीले बक्यौता तिर्न बाँकी छ भनेर सरकारले भन्दै आएको मात्र छ, तर ५ वर्षको एडभान्स कर सरकारले फिर्ता गरेको छैन,’ उनले भने, ‘निर्माण व्यवसायीको करोडौं भुक्तानी गरेको छैन, व्यवसायीलाई भने एक दिन कर तिर्न ढिला भयो भने पेनाल लगाइन्छ ।’
सरकार र निजी क्षेत्र एकै रथका दुई पांग्रा भए पनि रथ हाँक्ने घोडा र पांग्रा निजी क्षेत्र नै भएकाले सरकार केबल चालक मात्रै भएको उनको भनाइ छ । यदी चालक गतिलो भएन भने सही गन्तव्यमा पुग्न नसकिने पौडेलले बताए ।
कार्यक्रममा नेपाल निर्जीवन बिमक व्यवसायी संघका महासचिव महेन्द्र श्रेष्ठले बीमाको पहुँच बढाउन सरकारले नै नीतिमा सुधार गर्नुपर्ने बताए । उनले बीमा क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण पिलर भएकाले यो क्षेत्रको खास महत्व रहेको भन्दै उनले सञ्चार माध्यमले बीमा उद्योगको विकासमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।