
काठमाडौं । भदौ नजिकिएसँगै संखुवासभा, भोजपुर लगायतका पहाडी जिल्लामा रूद्राक्ष खरिद गर्ने व्यापारीहरुको चहल पहल बढ्ने गरेको थियो । चिनियाँ व्यापारीहरु नै रूद्राक्ष खरिदका लागि गाउँ गाउँ पुग्ने गरेका थिए ।
संखुवासभा, भोजपुर लगायतका जिल्लालाई रुद्राक्षको राजधानी मानिन्छ । ती जिल्लाका किसानहरुले रुद्राक्षलाई नै आम्दानीको प्रमुख स्रोत बनाएका छन् ।
तराईका केही जिल्लामा रूद्राक्षको किनबेच सुरू भएको तर, पहाडमा भने अझै केही समय लाग्ने रुद्राक्ष व्यवसायी संघका महासचिव गणेश राईले बताए ।
भोजपुरको षडानन्द र संखुवासभा जिल्लाको खाँदाबारी नगरपालिकाभित्र बढी रुद्राक्ष उत्पादन हुने भएकाले यस क्षेत्रलाई रुद्राक्षको हब पनि मानिन्छ । पछिल्ला वर्षहरुमा भने व्यवसायीहरूले मुखदार रूद्राक्षको आशामा बगैंचा नै ठेक्का लिने गरेका छन् ।
विगत केही वर्षदेखि रुद्राक्षको व्यापारमा मन्दी आएको छ । प्रदेश सरकारले जारी गरेको आर्थिक ऐन २०७५ ले रूद्राक्षमा दोहोरो करको व्यवस्था गरेपछि रूद्राक्षको व्यापार खस्किएको व्यवसायीहरु बताउँछन् ।
रूद्राक्ष व्यवसायी संघको तथ्याङ्क अनुसार गत वर्ष करिब २ अर्ब रुपैयाँ भन्दा बढीको मुखदार रूद्राक्षको कारोबार भएको थियो । व्यवसायीले पाँच मुखे रूद्राक्षका लागि भने प्रति केजी नै १७/१८ लाख रूपैयाँ लगानी गरेका थिए । वर्षेनी करिब ३ अर्ब रुपैयाँको रुद्राक्ष विभिन्न देशमा निर्यात हुने राई बताउँछन् ।
विश्व महामारीको रूपमा फैलिएको कोभिड–१९ को असर पश्चात् घर–घर पुग्ने चिनियाँ व्यापारिको उपस्थित पातलिदाँ पनि रूद्राक्षको व्यापारमा कमी आएको व्यवसायीहरु बताउँछन् । कोरोना महामारीको प्रकोप घटेसँगै चिनियाँ व्यापारीको उपस्थितिमा वृद्धि हुने अपेक्षामा किसानहरु छन् ।
‘पहिला चिनियाँ व्यापारीले करोडौं रुपैयाँको रुद्राक्ष किनेर लगे, व्यापारी तथा किसान पनि उत्साहित भए, चिनियाँ व्यापारीले दानालाई अझ आकर्षक बनाउने आश देखाइ रुद्राक्षको बोटमा विषादीको प्रयोग गर्न लगाए’, राईले भने, ‘विषादीको प्रयोग पश्चात् रुद्राक्षको बोट र जमीन समेत बिग्रियो’, राईले भने ।
यस्तै, चिनियाँ नागरिकले पर्यटक भिसामा आएर रुद्राक्षको व्यापार गरेको पाइएको राईले बताए ।
शुद्ध रुद्राक्षको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको बताउँदै चीन र भारत मात्र निर्यात हुँदै आएको रुद्राक्ष हाल अमेरिका, क्यानडा, सिंगापुर लगायका देशमा पुग्न थालको उनले बताए ।
कति पर्छ मूल्य ?
रुद्राक्षको मूल्य त्यसको गुणस्तरको आधारमा निर्धारण हुने गरेको छ ।
रुद्राक्ष व्यापारी चन्द्रमणि खत्री यस वर्ष रुद्राक्षले गतर्षको जस्तै मूल्य पाउँने बताउँछन् । ‘चिनियाँ व्यापारीले नै नेपालको रूद्राक्षको बजार विगारेका हुन् । उनीहरुले नै मूल्य घटाए । यस वर्ष पनि रूद्राक्षको व्यापार अघिल्ला वर्षमा जस्तै रहला’, खत्रीले भने ।
रुद्राक्ष उत्पादन बढेको र ठूला मुखेदाना पनि प्रशस्त पाइने हुँदा मूल्यमा गिरावट आएको व्यापारी खत्रीको बुझाइ छ ।
‘गत वर्ष पाँच मुखे जस्ता सुकै पनि बिक्यो, ती दाना सबै भारत निर्यात भयो, किसानले १०/१५ रुपैयाँमा व्यापारीलाई बेचे व्यापारीले ३०÷४० रुपैयाँमा बेचे, रुद्राक्षको मूल्य बढ्दैन बरु घटेर जान्छ,’ उनले भने ।
यसैगरी, रुद्राक्षको व्यापारमा मन्दी छाएपछि कारोबारमा पनि समस्या देखिएको रुद्राक्ष व्यापारी प्रयाग गौतम बताउँछन् । यसवर्ष पाँच मुखे रुद्राक्षको मूल्यमा सामान्य गिरावट आए पनि ठुलामुखे रुद्राक्षको मूल्य नघट्ने उनी बताउँछन् ।
‘हामीले विशेष गरेर रुद्राक्ष चिनियाँ व्यापारीलाई बेच्ने हो, चाइनिज व्यापारी पनि उल्लेखिय रूपमा आउँने बुझिएको छैन, आएता पनि कमै मात्रमा आउँने छन्, रुद्राक्षको बजार भाउ पनि घटेको छ,’ उनले भने ।
२०७८ सालको तुलनामा भन्दा २०७९ मा ७० प्रतिशत भन्दा कम मूल्यमा रुद्राक्ष बिक्री भएको गौतमले बताए ।
‘एक लाख रुपैयाँ बिक्री भएको सामान गत वर्ष १५/२० हजारमा बिक्री भयो, त्यस्तै १० लाखमा बिक्री भएको सामान डेढ लाखमा बिक्री गर्नुपर्ने अवस्था आयो’, उनले भने ।
रूद्राक्ष तयार भइनसक्दै चिनियाँ व्यापारीहरुले अर्डर गर्ने भए पनि यस वर्ष अहिलेसम्म त्यस्तो अर्डर नआएको व्यापारीहरुले बताएका छन् ।