काठमाडौं । एनआइबिएल एस क्यपिटल पनि अब नेशनल पेमेन्ट स्वीचमा आवद्ध भएको छ ।
एनआइबिएल एस क्यपिटलले भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचमा आवद्ध भएको छ ।
यसका लागि एनआइबिएल एस क्यपिटलका तर्फबाट संस्थाका डेप्युटि प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार एनआइबिएल एस क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेसंग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरु गर्न सक्नेछन् । साथै, क्यापिटलका डिभिडेण्ड भुक्तानी लगायत तलब, भेण्डर भुक्तानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछन् ।
एनआइबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसले सन् २०११ देखि मर्चेन्ट बैंकिङ, सल्लाहकार, सम्पत्ति व्यवस्थापन सेवादेखि डिपोजिटरी पार्टिसिपेन्ट सम्बन्धी लगायतका विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ ।