अब कुमारी नम्बर वान बैंक बन्छ, सेयरधनीलाई खुसी बनाउँछौं : अध्यक्ष राणासँगको कुराकानी

<p>कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक मर्जर भएर कुमारी बैंक बनिसकेको छ । दुवैं बैंकबीच एकिकृत कारोबार पनि भइसकेको छ । एनसीसी बैंकको प्रधान कार्यालय र विभिन्न शाखाहरुमा कुमारी बैंकको होर्डिङ्ग बोर्ड झुण्डिन थालिसकेको छ । मर्जर सम्झौता भएको ३ महिनामा नै एकीकृत कारोबार गरेर देखाउने बैंकको रुपमा पनि कुमारी बैंक चिनिएको [&hellip;]</p>

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक मर्जर भएर कुमारी बैंक बनिसकेको छ । दुवैं बैंकबीच एकिकृत कारोबार पनि भइसकेको छ । एनसीसी बैंकको प्रधान कार्यालय र विभिन्न शाखाहरुमा कुमारी बैंकको होर्डिङ्ग बोर्ड झुण्डिन थालिसकेको छ । मर्जर सम्झौता भएको ३ महिनामा नै एकीकृत कारोबार गरेर देखाउने बैंकको रुपमा पनि कुमारी बैंक चिनिएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल बनेका छन् भने अध्यक्ष अमिरप्रताप ज.ब. राणा बनेका छन् । मर्जर सम्झौता गरेको छोटै समयमा एकीकृत कारोबार गर्न सफल कुमारी बैंकका अध्यक्ष राणासँग विकासन्युजका लागि रामकृष्ण पौडेल र सन्तोष रोकायाले कुमारी बैंकको बिजेनस, आगामी योजना र समसामयिक विषयवस्तुमा कुराकानी गरेका छन् ।

बैंकहरुले लगानीकर्तालाई दिने प्रतिफल पातलिँदै गएको छ, कम प्रतिफलकै कारण बैंकहरुबाट सेयरधनीहरु बाहिरिएको भन्ने पनि सुनिन्छ, तपाईं पनि कुमारी बैंकको लगानीकर्ता हो, तपाईंले चाहिँ के सोचिरहनु भएको छ, बैंकलाई कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ ?

पुराना र ठूला लगानीकर्ताले बैंक छोड्छन् जस्तो मलाई लाग्दैन । सबै जना कर्मठ रुपमा काम गरिरहनु भएको छ । बिके श्रेष्ठ, पृृथ्वीबहादुर पाँडे, प्रचण्ड श्रेष्ठ र राजेन्द्र खेतान लगायत ठूला र पुराना बैंकका सेयरधनीहरु मिहिनेत गरेर काम गरिरहनु भएको छ । अहिले बैंकहरुको प्रतिफलमा केही संकुचन आएको छ । पहिले बैंकहरुमा खासै ठूलो प्रतिस्पर्धा थिएन । अहिले प्रतिस्पर्धा बढेको छ । राष्ट्र बैंकबाट पनि धेरै नीति परिवर्तन भएका छन् । यसले पनि बैंकहरुको बिजनेस भोलुम घटेको छ । यसले पनि प्रतिफल घटेको हुन सक्छ । बैंकिङ स्थायी रुपमा हेर्नु पर्ने व्यवसाय हो । बैंक व्यवसाय भनेको आज खोलर भोलि बन्द हुने व्यवसाय होइन । एक पटक खोलेपछि जुनीजुनीलाई हुनु पर्ने व्यवसाय हो । तर्क संगत रुपमा भोलुमको सस्टेन हेर्नु पर्छ, प्रतिफलको दरलाई एउटा ठाउँमा राखेर कामको भोलुम हेर्ने हो । भारतमा पनि बैंकले दिने प्रतफिल एकदमै कम छ । भारतमा सबैभन्दा बढी प्रतिफल दिने बैंकले १० प्रतिशत प्रतिफल दिन्छ ।

नेपाली बैंकमा एउटा अभ्यास बिग्रिएको छ । पहिले बैंकहरुले २५/३०/४० प्रतिशतसम्म प्रतिफल दिए । तर, अहिले अवस्था त्यस्तो रहेन । त्यसैले पनि अहिले पातलिएको हो । अहिले मुद्दति निक्षेपमा राख्दा १३ प्रतिशत पाउँछु र बैंकमा लगानी गर्दा औसतमा १२ प्रतिशत पाउँछु भन्ने मानिसिकता पनि हुन सक्छ । तर, अहिलेको परिस्थितको कारणले हो । सधैं यही अवस्था रही रहँदैन । बैंकहरुले नयाँ–नयाँ प्रेडक्ट लिएर आउनु पर्यो । नयाँ–नयाँ सोचका साथ काम गर्नु पर्यो । उत्पादनशीलता बढाउनु पर्यो । धेरै शाखा खोलेर धेरै बिजनेस गर्छु भन्ने दिन गइसक्यो । लागत घटाउने तर्फ जानु पर्छ । धेरै देशहरुको बैंकहरुमा कर्मचारीहरु घटिरहेका छन्, किनकी त्यहाँका बैंकहरु प्रविधिमा गए । मान्छेहरु जागिरविहिन भइरहेका छन् । तर, मान्छेले आर्जेको ज्ञान अन्य ठाउँमा पनि काम लाग्छ । बैंकमा मात्रै काम गर्नु पर्छ भन्ने छैन । सेयरधनीहरु बाहिरिने कुरा धेरै समस्या होइन । कुनै लगानीकर्ताहरु आफ्नो व्यक्तिगत कारणले पनि बाहिरिएका हुन सक्छन् । प्रतिफलकै कारण भन्न मिल्दैन ।

बैंकहरुको प्रतिफल अब घट्दैन भन्ने तपाईंको बुझाइ हो ?

बैंक आफैमा पनि सुदृढ हुनु पर्छ । प्रतिफल बढाउनका लागि सञ्चालक समिति चुस्त हुनु पर्छ । व्यवस्थापन टीमलाई काम गर्न दिनु पर्यो । बोर्डको माइनुट काखी मुनि च्यापेर हुँदैन । म भन्छु भनेर बैंकको निर्णयको माइन्युट काखीमुनी च्याप्ने अनि एक सातापछि साइन गरेर दिने परिपाटीले बैंकको प्रगति हुँदैन । यस्तो पनि कतिपय बैंकमा भएको छ । तर, यसरी बैंक चल्दैन ।

तपाईं कुमारी बैंकलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ, तपाईंको अबको योजना के हो ?

मेरो अबको योजना ‘प्लेन एण्ड सिम्पल’ छ । बैंकलाई पारदर्शी बनाउने, प्रडक्टिभिटी बढाउने, त्यसको मेकानिज्म विकास गर्ने र नयाँ–नयाँ प्रडक्टहरु बनाउने हो । हाम्रो बोर्डमा कुनै समस्या छैन । अब हाम्रो बाटो क्लियर छ । अब हाम्रो लक्ष्य भनेको नम्बर वान नै हो । अबको पाँच वर्षभित्र नम्बर वान बैंकका रुपमा चिनाउने हो । हिजोको दिनमा कुमारी बैंक २४/२५ नम्बरमा थियो । गत एक वर्षभित्र ९ नम्बरमा आयो । मर्जरपछि ४ नम्बरमा आइपुगेका छौं । यो प्रगति भनेको ३ वर्षको मात्रै हो । अबको लक्ष्य भनेको प्रतिफलमा नम्बर वान नै हो । यदि मैले त्यो गर्न सकिँन भने म पारदर्शी छैन भन्ने बुझ्नु पर्छ । पुँजीको हिसाबले हामीभन्दा ठूलो बैंक तीन वटा मात्रै छन् । पुँजीले हाम्रो प्रतिफलाई रोक्दैन ।

कुमारी र एनसीसी बैंकबीच एकीकृत कारोबार पनि भइसेकेको छ, अब बैंक कसरी अगाडि बढ्छ ?

अब बैंक एउटै भइसक्यो, यो मेरो यो तेरो भन्ने छैन । एनसीसीको कर्मचारी, कुमारीको कर्मचारी भन्ने छैन । अब हामी सबै एउटै हो । हिजोको दिनमा म एनसीसीको भएपनि अब कुमारीको सीईओ हो । अब हामी एउटै हो ।

मर्जर भइसकेपछि पनि धेरै संस्थाहरुमा सिनर्जी इफेक्ट देखिएन, प्रतिफल पनि खासै बढेन, यो हेर्दा त पुँजी ठूलो भएर मात्रै नहुँदो रहेछ नी ?

पुँजी हेरेर मात्रै हुँदैन । बोर्डले कत्तिको सपोर्ट गरेको छ भन्ने पनि हेर्नु पर्छ । म्यानेज्मेन्टले कसरी काम गरिरहेको छ भन्ने विषय पनि महत्वपूर्ण हो । यस्तो कुनै समस्या कुमारीमा छैनौं । हामी सहकार्य र समन्वय गरेर अगाडि बढ्छौं ।

संस्था जति ठूलो भयो त्यति नै बढी जोखिम हुन्छ भन्ने चिन्ता तपाईंमा छैन ?

त्यो चिन्ता एक थोपा पनि छैन । म बैंकलाई कतातर्फ लैजान्छु भन्नेमा म प्रष्ट छु । तस्वीर र बाटो क्लियर छ । एनसीसी बैंकबाट आएका सञ्चालक, व्यवस्थापन के कस्ता हुन्छन् भन्ने विषयमा पनि दुविधा छैन । बैंकको चिन्ता गर्नु भनेको आफ्नो क्षमतालाई संशय गर्नु हो । तरलताको समस्याले के होला ? नियामकले कस्तो नीति ल्याउला ? अर्थनीति कस्तो आउँछ ? भन्ने विषय फरक हो । यसले सबै बैंकहरुलाई नै प्रभाव पार्छ ।

बैंकहरुको नाफाको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेकाे छ, नियामकले पनि विभिन्न नीतिमा कडाइ गरिरहेको छ, यी घटनाक्रम र परिदृश्यहरुले त बैंकलाई र बैंकको प्रतिफलमा पनि असर गर्छ भन्ने लाग्दैन ?

देशको स्थिति राम्रो हुँदा बैंकले कति कमाइरहेको छ भन्ने विषय आएन । देशको स्थिति सधैं यस्तै रहँदैन । आज देशको स्थिति खराब छ त्यसैले उद्योगी व्यवसायी साथीहरुलाई समस्या भएको हो । म पनि उद्योगी हो, त्यो समस्या मलाई पनि परेको छ । अलिकति ब्याज कम भए हुने भन्ने मेरो पनि सोच हो । तर, यो सधैं रहँदैन । अहिले उहाँहरुको व्यवसाय कसरी सस्टेन गर्न सकिन्छ भन्नेतर्फ बैंकहरु र नीति निर्माताहरुले पनि सोच्नै पर्छ । नभए अर्थतन्त्र धरासायी हुन्छ । अहिले एकअर्कालाई सहयोग र समन्वय गरेर अगाडि बढ्नु पर्ने समय हो । दुखेको मान्छेले कराउँछ । यो स्वभाविकै हो । हिजो देशको अर्थतन्त्र सकारात्मक भएको अवस्थामा बैंकहरुले यति कमाए उति कमाए भनेर बहस हुँदैनथ्यो । उद्योगी व्यवसायीहरुले पनि कमाएकै थिए । तर, अहिले समस्यामा परे । गुनासो गर्नु स्वभाविक नै हो ।

तपाईं आफै पनि बैंकको अध्यक्ष र उद्योगी पनि हो । केही समय अगाडि उद्योगी व्यवसायीहरु कालो झण्डा लिएर सडकमा उत्रिँदा तपाईंलाई कस्तो महसुस भयो ?

म बैंकर होइन । म बैंकको सेयरधनी हो । त्यही कारणले म आज बैंकको बोर्डमा बसेको छु । बोर्डमा बस्दा मैले बैंकका सेयरधनीलाई जति सक्दो बढी प्रतिफल दिनु पर्छ भन्ने विषयलाई प्राथमिकता दिन्छु । मेरो व्यवसाय पनि अलग्गै छ । मेरो आ–आफ्नै जिम्मेवारी छ । उद्योगी व्यवसायी साथीहरुले गरेको काममा पनि मेरो भन्नु केही छैन । भोलि गएर उद्योग व्यवसाय रहेनन् भने बैंकहरु पनि बाच्न सक्दैनन् । अनि बैंकहरुले कसलाई ऋण दिने ?

त्यसो भए उद्योगी व्यवसायीहरुका मागहरु जायज हुन्, उनीहरुले जे कुरा भनिरहेका छन् ती सबै सही हुन् ?

बैंकहरुले पनि सर्भाइभ गर्न सक्नु पर्छ । बैंकमा पनि कसैको लगानी छ । बैंक पनि गैर नाफामुलक संस्था त होइन । बैंक एनजीओ/आईएनजीआले त चलाएको होइन नी । यसले पनि लगानीको प्रतिफल त पाउनु पर्यो । तर, अहिलेको अवस्थामा उद्योगी व्यवसायी र बैंकरले मिलेर जानु पर्छ । व्यवसायीको कुरा बैंकरहरुले बुझ्नै पर्छ । व्यवसायीहरुले पनि बैंकहरुको कुरा बुझ्न सक्नु पर्छ । कमाउनै नहुने भन्ने होइन ।

हिजोका दिनमा एनसीसी र कुमारी बैंककै सञ्चालकको असन्तुष्टि र दरारका विषय पनि बाहिरिन्थे, अब मर्जर भइसकेपछि सबै सेयरधनी तथा सञ्चालकहरुलाई हामी एकै हौं, कुमारी बैंक हाम्रै हो भन्ने किसिमको अनुभुति दिलाउन के कसरी काम गर्नु हुन्छ ?

त्यो इतिहास हो । अब हामीले इतिहासलाई हेरेर त्यसमा सचेत भएर अगाडि बढ्ने हो । हामीले पहिले झगडा गरेर कुमारी बैंक पुछारमा पुग्यो । त्यो बेलाको बैंकको प्रमोटर, सञ्चालक तथा अध्यक्षहरु बैंकको सेयरधनीहरुलाई दिने प्रतिफलको विषयमा चिन्तित नभएर नै त्यो किसिमको विवाद सिर्जना भयो होला । तर, म विवाद चाहन्नँ । मैले धेरै वर्षदेखि विवाद देख्दै आएको छु । त्यसबाट के हुने रहेछ भन्ने कुरा पनि बुझेँ । मेरो लागि राम्रो के हो भन्दा पनि सेयरधनीका लागि राम्रो कुरा के हो भन्ने कुरालाई प्राथमिकता दिनु पर्छ । त्यो हुनासाथ सबै काम राम्रो हुन्छ । यसअघि पनि म कुमारी बैंकको अध्यक्ष हुँदा साथीभाइहरुले भनेर आएको थिएँ । अहिले पनि साथीभाइहरुले बस्नु पर्यो भनेपछि बसेको हुँ । म बन्नु पर्छ भन्ने खेल मैले खेलेको छैन ।

एनसीसी बैंकमा पनि एक किसिमको इतिहास छ । मेरो आग्रह छ, जति सक्दो बढी प्रतिफल लिने प्रयास गर्ने हो । तर, विवाद गर्नु हुँदैन । कुमारी बैंकको अध्यक्ष भनेको देशको प्रधानमन्त्री पद होइन । मैले काम गर्न सकिनँ भने छोड्नु पर्छ । ४ वर्ष अगाडि कुमारी बैंकको अध्यक्ष हुँदा पनि मैले पफर्मेन्स गर्न सकिन भने बाहिर बस्छु भनेको थिएँ । अध्यक्ष भएर मैले केही पाउने होइन । मैले मेरो लगानीको प्रतिफल मात्रै पाउने हो । उल्टै अध्यक्ष भएर मैले अन्य व्यवसायमा समय दिन सक्दिन । यो ठूलो कुरा होइन । आजको दिनमा पनि म राम्रोसँग चलाउन सक्छु भनेर आउनु भयो भने म खुसीका साथ छोड्न तयार छु ।

अब कुमारी बैंकमा तपाईंको हिस्सा घट्छ, सेयर बढाउनेतर्फ लाग्नुहुन्छ कि लाग्नु हुन्न ?

म केही गर्न सक्दैन । मैले सेयर बढाउन सक्दैन । मैले खरिद गर्न पनि पाउँदैन । मैले सञ्चालक छोडेपछि अर्को कुरा हो । त्यो बेलाको अवस्था के हुन्छ, हेरौं । म वर्तमानमा विश्वास गर्छु । आज के हुन्छ त्यही गर्छु भोलि हेर्दिन ।

Share News