काठमाडौं । इष्टर्न हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै सवा लाखले आवेदन दिएका छन् । असोज २८ गतेदेखि बिक्री खुला भएको हाइड्रोको सेयरमा एकैदिनमा १ लाख ३५ हजार ४२९ जनाले आवेदन दिएका हुन् ।
सिडीएस एण्ड क्लियरिङ्को अनुसार दिउँसो साढे १ बजेसम्ममा उनीहरुले १ लाख ३५ हजार ४२९ कित्ता सेयरको लागि आवेदन परेको हो । आवेदकले कूल १५ करोड ८० लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा छ करोड २० लाख मूल्य बराबरको छ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेकाे छ । इच्छुक लगानीकर्ताले आगामी कात्तिक १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका साथै ‘मेरो शेयर’को वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिने छ ।
कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएनपी-बी प्लस आइएस’ रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।