काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २०.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह २० प्रतिशतले वृद्धि भई ९२ अर्ब २१ करोड रुपैयाँ पुगेकोे छ । जुन अघिल्लो वर्षको साउनमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४ हजार ५४० पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो ।
त्यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर १८.४ प्रतिशतले वृद्धि भई १०१ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५.७ प्रतिशतले घटेको थियो ।