काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीलाई प्रत्येक वर्ष तालिम दिन निर्देशन दिएको छ । बुधबार राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रत्येक वर्ष तालिम दिनुपर्ने भएको हो ।
‘बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यक्षेत्रसँग सम्बन्धित तालिम प्रत्येक २ वर्षमा कम्तिमा एक पटक र ट्रेड फाइनान्स तथा कर्जा सम्बन्धी कार्य गर्ने कर्मचारीलाई विशिष्टिकृत तालिम प्रत्येक वर्ष प्रदान गर्नु पर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
बैंक तथा वित्तीय संस्थामा दक्ष जनशक्तिको विकास गर्नका लागि यस्तो व्यवस्था राष्ट्र बैंकले गरेको हो । साथै बैंक प्रवेश गरेका नयाँ कर्मचारीलाई एक महिनामा २ हप्ता अभिमुखीकरण तालिम दिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।
राष्ट्र बैंकको नयाँ व्यवस्थामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले बैंकिङ्ग क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्नका लागि नयाँ भर्ना भएका कर्मचारीहरुलाई बैंक प्रवेश गरेको १ महिनाभित्र कम्तिमा दुई हप्ताको अभिमुखीकरण तालिम प्रदान गर्नुपर्नेछ ।’
बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रदान गरेको तालिमको शिर्षक, मिति, अवधि, तालिम प्राप्त गर्ने कर्मचारीको नामावली लगायतका विवरण संस्थाको वेबसाइटमा अर्धवार्षिक रुपमा अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन छ ।