काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले करिब १० महिनासम्म नेपालको माग धान्न सक्ने गरी नुन लगायतका अत्यावश्यकीय वस्तुको भण्डारण गरेको जनाएको छ ।
बजारमा नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको अभाव भए जस्तो गरि कालोबजारी हुन थालेपछि कर्पोरेशनले प्रेस विज्ञप्ती जारी गर्दै आम उपभोक्तालाई निश्चिन्त रहन आग्रह गरेको हो ।
कर्पोरेशनले जारी गरेको विज्ञप्तीमा बजारमा अत्यावश्यकीय वस्तुको अभाव नभएको जनाईएको छ । कर्पोरेशनका सिईओ उर्मिला श्रेष्ठले करिब १० महिनालाई पुग्ने नुन मौज्दात रहेको जानकारी दिईन् ।
सिईओ श्रेष्ठले कर्पोरेशनसँग एक लाख ५८ हजार ५०० मेट्रिक टन नुन करिब १० महिनालाई धान्ने मौज्दात छ भएको र अहिले नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुन खपत हुँदै आएको जानकारी दिएकी छन् ।
यसैगरी, कर्पोरेशनका विभागिय प्रबन्धक ब्रजेश कुमार झाले चिनीको पनि पर्याप्त मौज्दात रहेको जानकारी दिएका छन् । हाल दुई हजार ५०० मेट्रिक टन चिनी गोदाममा रहेको छ भने सात हजार ५०० मेट्रिक टन चिनी आयातका क्रममा स्थलमार्गमा रहेको झाले बताए ।
कर्पोरेशन लगायतसँग करिब पाँच महिनालाई पुग्ने चिनी मौज्दात रहेको जनाउँदै चिनीको हाहाकार छ वा हुन्छ भनेर चिन्तित हुनुपर्ने अवस्था नरहेको कुरा स्पष्ट पार्दै उनले अनावश्यक भण्डारण नगर्न पनि उपभोक्तालाई आग्रह गरे ।
कर्पोरेशनले नून, चिनी, एलपी ग्यास, चामल, तेल, आटा, मैदा, दाल लगायतका उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको छ