काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति कार्यालयले उनकाे राजीनामा अहिले स्वीकृत गरेकाे हाे ।
उनले मंगलबार अर्थमन्त्रीपदबाट राजीनामा दिएका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका डा. खतिवडाकाे राजीनामा स्वीकृत भएको हो ।
‘आज मिति २०७६ साल फागुन २० गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ,’ विज्ञप्तीमा लेखिएकाे छ ।
उनले मूख्य सचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए । अब अर्का मन्त्री नियुक्त नभएसम्मका लागि अर्थमन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रधानमन्त्री केपि ओलिले नै सम्हाल्ने छन् ।
राजीनामा दिइसकेपछि उनको राजीनामा स्वीकृत गरी पुनः मन्त्री पदमा नियुक्त गर्ने बुझिएको छ । संविधानमा संघीय संसद्को सदस्य नभएको व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सकिने व्यवस्था छ ।
नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् । धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।