प्रतिकिलो १ लाखमा कपाल निर्यात, कसले किन्छ नेपाली कपाल ?

<p>काठमाडौँ । हामीले पैसा तिरी काटेर फालेको कपाल ठूला र विकसित मुलुकमा निर्यात हुन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर, नेपालबाट चीन, भारत, दक्षिण कोरियामात्रै नभई अमेरिकासम्म नेपाली कपाल निर्यात हुने गरेको छ । त्यो पनि वैधानिक रूपमा । जति लामो कपाल भयो, उति बढी मूल्य पाइन्छ । गत आर्थिक वर्षमा नेपालबाट क्यानडामा प्रति [&hellip;]</p>

काठमाडौँ । हामीले पैसा तिरी काटेर फालेको कपाल ठूला र विकसित मुलुकमा निर्यात हुन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर, नेपालबाट चीन, भारत, दक्षिण कोरियामात्रै नभई अमेरिकासम्म नेपाली कपाल निर्यात हुने गरेको छ । त्यो पनि वैधानिक रूपमा । जति लामो कपाल भयो, उति बढी मूल्य पाइन्छ ।

गत आर्थिक वर्षमा नेपालबाट क्यानडामा प्रति केजी १ लाख ३ हजार २ सय २ रुपैयाँमा नेपाली कपाल निर्यात भएको छ । क्यानडामा गत आर्थिक वर्षमा १६ लाख ५१ हजार ४१ रुपैयाँमा १६ केजी कपाल निर्यात भएको छ ।

नेपालले आर्थिक वर्ष २०७५/०७६ मा मात्रै २२ करोड ९५ लाख २१ हजार ८ सय ४० रुपैयाँमा ७ हजार ४ सय ३० केजी कपाल निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्दन केन्द्रको तथ्याङमा उल्लेख छ ।

आर्थिक वर्ष २०७४/०७५ मा १६ करोड ५६ लाख ८० हजार ८ सय १० रुपैयाँमा ७ हजार १ सय ७३ केजी कपाल निर्यात भएको केन्द्रको तथ्याङमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा ४ करोड ३८ लाख ४१ हजार ३० रुपैयाँले कपाल निर्यात वृद्धि भएको छ ।

पछिल्लो वर्ष २ सय ५७ केजीेले कपाल निर्यातमा वृद्धि भएको हो । केन्द्रकाे तथ्यांक अनुसार नेपालबाट सबैभन्दा धेरै दक्षिण कोरियामा १८ करोड ४४ लाख २३ हजार ९ सय ८९ रुपैयाँको ५ हजार १ सय ५४ केजी कपाल निर्यात भएको छ ।

विभिन्न ब्युटिपार्लर र सैलुनले काटेको कपाल, दाह्री र जुँगा संकलन गरी निर्यात गर्ने गरेको व्यापार तथा निकासी प्रवर्दधन केन्द्रले जनाएको छ । केन्द्रको तथ्यांकअनुसार नेपालबाट चीन, बेल्जियम, भुटान, जापान, दक्षिण कोरिया र नेदरल्यान्डमा कपाल निर्यात हुने गरेको छ ।

कलंकीमा रहेको ठाकुर सैलुनका सञ्चालक तथा सिटीईभीटीईमा व्यट्रिपार्लर प्रशिक्षक राजकुमार ठाकुरले  आफुले काटेको कपाल संकलन गरेर विदेश निर्यात हुने गरेकाे बताए ।

उनले प्रशिक्षण दिँदा पनि लामो र राम्रो कपाल नेपालबाट निर्यात हुने जानकारी दिने गरेको बताए ।  नेपालभरी करिब १६/१७ हजारजति सैलुन रहेका  छन् ।

केन्द्रकाे तथ्यांक अनुसार नेपालबाट सबैभन्दा धेरै दक्षिण कोरियामा ८ करोड ५७ लाख ३ हजार ९ सय ८३ रुपैयाँको २ हजार १ सय ५४ केजी कपाल निर्यात भएको थियो । जापानमा ३ करोड ३६ लाख १५ हजार १०८ रुपैँयाको १ हजार १०६ केजी कपाल निर्यात भएको छ । चीनमा २ करोड ५७ लाख ६१ हजार ६८० रुपैँयाको ५२१ केजी कपाल निर्यात भएको थियो ।

नेदरल्यान्डमा १ करोड ७३ लाख ८० हजार ९०४ रुपैँयाको ८५६ केजी कपाल निर्यात भएको थियो । ताइवन चीनमा १३ लाख ६७ हजार १५५ रुपैँयाको ८ केजी कपाल निर्यात भएको थियो । बेल्जियममा ५ लाख ७५ हजार ४६१ रुपैँयाको ५२ केजी कपाल निर्यात भएको थियो ।

बेलायतमा ३ लाख ७९ हजार ८८५ रुपैँयाको ३८ केजी कपाल निर्यात भएको थियो । स्वीजरल्याडमा ३ लाख १० हजार ४८५ रुपैँयाको ८ केजी कपाल निर्यात भएको थियो ।

कसरी सुरु भयो विश्वमा कपालको व्यापार ?

करिब साढे ६ दशकअघि कोरियाली सरकारले हरेक व्यक्तिले मुलुक निर्माणका लागि एक न एक वस्तु दान गर्नैपर्ने व्यवस्था ल्याएको थियो । त्यसपछि महिलाले लामो कपाल राज्यलाई दान दिन थाले ।

दान दिएको कपाल विदेश निर्यात गरी विदेशी मुद्रा आर्जन हुन थालेको थियो । त्यसपछि विश्वभर नै कपाल व्यापारले वैधानिकता पाएको हो ।

Share News