काठमाडौं । अबदेखि सामाजिक संजालमा विज्ञापन गर्न नपाइने भएको छ । सामाजिक संजालमा विज्ञापन गरे विदेशी मुद्रा अपचलनको अभियोगमा मुद्दा लाग्नेछ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशित गरी सामाजिक संजालहरु फेसबुक, युट्युब, ट्वीटर जस्ता सामाजिक संजालमा विज्ञापन गर्नु गैरकानुनी काम भएको उल्लेख गरेको छ । इन्टरनेटलाई माध्यम बनाएर संचालनमा रहेका सामाजिक संजालमा विज्ञापन गर्ने क्रम पछिल्लो समय बढ्दो क्रममा छ ।
सामाजिक संजालमा विज्ञापन गर्दा त्यसको भुक्तानी र विज्ञापन वापत प्राप्त हुने रकमको कारोबार गैरकानूनी रहेकोले रोक लगाइएको राष्ट्र बैंकको भनाइ छ ।

‘फेसबुक, ट्वीटर, युट्युब, जस्ता सामाजिक संजाल तथा इन्टरनेट मार्फत गरिने विज्ञापन वापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी हो, यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकोले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय ऐन २०१९ र प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।