
रामचन्द्र जोशी, अध्यक्ष, नेपाल लघुवित्त बैंकर्स संघ तथा प्रमुख कार्यकारी अधिकृत, छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड
विगत २५ बर्ष देखि लघुवित्तका क्षेत्रमा निरन्तर क्रियाशिल व्यक्तित्वको नाम हो रामचन्द्र जोशी । सामाजिक संस्था हुँदै लघुवित्त विकास बैंक बनेको छिमेकी लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका जोशीले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको अध्ययन गरेका छन् । हाल नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष समेत रहेका जोशीसँग नेपालमा लघुवित्त कम्पनीको अवस्था, योगदान र चुनौतीका बिषयमा केन्द्रित भएर गरिएको कुराकानी ।
सबै स्थानीय तहमा बाणिज्य बैंकका शाखा विस्तार भैरहेका छन्, विकास बैंक र फाइनान्स कम्पनी पनि ग्रामिण क्षेत्रमा केन्द्रित भैरहेको देखिन्छ, लघु वित्त कम्पनीहरुले आफ्नो अस्थित्वको रक्षा कसरी गरिरहेका छन् ?
लघु वित्तका आफ्नै लक्षित समुह छन् । त्यहाँ बाणिज्य बैंक वा विकास बैंकहरु जानै सक्दैनन् । हामीले काम गर्ने भनेको धितो समेत नभएका विपन्न वर्गसँग हो । रुख, डाडाँ देखाएर अन्य बैंक तथा वित्तिय संस्थाले ऋण दिँदैनन् । हामी बिनाधितो ऋण प्रवाह गर्छाै । स्थानीय तहमा बाणिज्य बैंकहरु पुग्दा हामीलाई आफुले संकलन गरेको पैसा बैंकमा राखेर कारोबार गर्ने सुविधा प्राप्त भएको छ । वित्तिय साक्षरता बढेसँग हामीलाई पनि काम गर्न सहजै हुन्छ । बैंक तथा वित्तिय संस्थाहरुको शाखा विस्तारले लघु वित्त कम्पनीहरुले कहिल्यै थ्रेट महशुस गरेका छैनन् ।
पहिले ४० प्रतिशत वित्तिय पहुँच थियो । अहिले ६० प्रतिशत पुगेको छ, अझै ४० प्रतिशत नागरिकमा वित्तिय पहुँच पुगेको छैन् ।
गरिबको संख्या घटेपछि लघुवित्तको औचित्य सकिन्छ भन्ने अवधारणा पनि आएको छ, त्यस्तो समय आईसकेको हो ?
यो अर्थमन्त्रीको अभिव्यक्तिपछि उठेको सवाल हो । नेपालमा गरिबको संख्या निश्चित छ । तिनको अवस्थामा सुधार आएसँगै तिनिहरुलाई गरिने लघु वित्तको लगानी पनि बढाउनुपर्छ । गरिबीको स्तर माथी उठेसँगै तिनलाई दिइने ऋणको आकार पनि बढाउनुपर्छ भन्ने अर्थमन्त्रीको आसय हो । गरिबको प्रकृति फेरिएपछि लघुवित्तको सेवाको प्रकृतिको पनि बदल्नुपर्छ भन्ने आसय उहाँको थियो । आज अमेरिकामा पनि माइक्रोफाइनान्सहरु फस्टाएका छन्, राम्रोसँग चलिरहेका छन् । लघु वित्तमा समाहितहरुलाई उद्यमी बनाएर उनीहिरुले रोजगारी दिने र हामीले पुँजी उपलब्ध गराउने काम गर्नुपर्छ । पहिले ५ हजार कर्जा मात्रै पाइन्थ्यो पहिलो पटकमा । अहिले हामीले पहिलो पटकमै ६० हजार कर्जा पाइने व्यवस्था गरिदिएका छौं ।
गरिबलाई कर्जा दिएर पहिलो हप्ता वा महिनाबाटै किस्ता असुली गर्ने लघुवित्तको कार्यशैली माथी प्रश्न उठ्ने गरेको छ नी ?
यो गलत बुझाई हो, ऋण लिएपछि तिर्नुपर्छ । अहिले हामीले साप्ताहिक, महिना, तीन महिना र ६ महिनामा किस्ता लिने गरेका छौं । यो योजनाको परिक्षण गर्दा ३ महिना वा ६ महिनाको किस्ता तिर्न विपन्न वर्गलाई समस्या हुने रहेछ । तिन चार महिनामा विपन्न वर्गले ३०।४० हजार पैसा तिर्न सक्दैन् । घरमा समस्या भएकाले पैसा भएपछि खर्च हुने रहेछ । त्यसकारण विपन्न वर्गले साप्ताहिक वा महिनावारी किस्ता तिर्न सक्ने रहेछ । महिनामा तीन।चार हजारको किस्ता सहजै तिर्ने रहेछन । विपन्न वर्गका मानिसले घरमा चार पाँच हजार जम्मा गर्यो भने त्यो पैसा नसकिँदासम्म फेरी काम नगर्ने बानी हुन्छ । उनीहरुलाई वचतको बानी बसाल्न पनि साप्ताहिक वा मासिक किस्ता लिनुपर्छ ।
लघु वित्तहरुलाई नव सामन्तको आरोप छ, गरिबसँग चर्काे ब्याज असुल्छन् भन्ने छ, त्यस्तो हो कि अवस्था अर्काै हो ?
हामी नेपाल राष्ट्र बैंकले दिएको लाईसेन्स अनुसार सेवा प्रवाह गर्छाै, नियमन हुन्छौं । लघु वित्त कम्पनीहरुको ब्याज सिमा उच्चतम १८ प्रतिशत छ भने स्प्रेड ७ प्रतिशत तोकिएको छ । यहि क्याप भित्र हामीले गरिब तथा विपन्न वर्गका नागरिकलाई दुर्गम क्षेत्रमा सेवा दिईरहेका छौं ।
गरिबलाई दिईएको कर्जाको ब्याजदर साहु महाजनसँग लिएको भन्दा बढी जस्तो देखियो भन्ने प्रश्न नि ?
कमर्सियल, विकास बैंकले पनि केन्द्रिय बैंकले तोकेको स्प्रेडमै कर्जा दिने हो । हामीले पनि त्यहि गरेका हौं । मैले धेरै देश घुमेको छु, नेपालका लघु वित्तले लिएको ब्याजदर संसारमै सस्तो हो । संसारका लघु वित्त कम्पनीहरुमध्ये सबै भन्दा सस्तो ब्याजदर नेपालमै छ ।
ब्याजदर र छिटो छिटो किस्ता तिर्नुपर्ने कारणले ऋणीहरुले आत्म हत्या गरेका घट्नाहरु पनि त सार्वजनिक भैरहेकै छन् नी ?
आत्म हत्या त साहुबाट ऋण लिनेले पनि गरेका छन् । बैंकबाट ऋण लिनेले पनि गरेकै छन् । लघु वित्तका ३२ लाख सदस्यहरु छन् । कहिँ कतै समस्या भएको हुन सक्छ तर लघु वित्तकै कारण आत्महत्या गरेको भन्ने आरोपमा मिथ्या हो ।
एउटै व्यक्तिले धेरै वटा लघु वित्तबाट ऋण लिएर दुरुपयोग गरेको, डुबेको अवस्था पनि छ, त्यसको नियमन कसरी हुँदैछ ?
धितो नराखी ऋण पाइने भएकाले एक भन्दा बढी कम्पनीबाट ऋण लिएको देखिन्छ । हामीले यस्तो गतिबिधी नियन्त्रयणका लागि लघु वित्तको कर्जा सूचना केन्द्र बनाउँदैछौं । लघु वित्त बैंकर्स संघ र राष्ट्र बैंक मिलेर केहि ठुला संस्थाले कर्जा सूचना केन्द्र सञ्चालन गरिसकेका छौं । यो कार्यान्वयन भएपछि एक जना व्यक्तिले जति वटा संस्थाबाट ऋण लिएपनि पाँच लाख भन्दा बढी ऋण लिन पाउँदैन् । यसै आर्थिक वर्षबाट सबै लघु वित्त कम्पनीहरुले कर्जा सूचना केन्द्रमा तथ्यांक पठाईसक्नेछन् । कर्जा सूचना नगर्नेहरुले त्यस्तो कर्जाको पाँच प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था समेत रहेको छ ।
राष्ट्र बैंकले लघु वित्त कम्पनीहरुलाई हकप्रद सेयर निष्काशनमा किन रोक लगाएको रहेछ ?
नेपाल राष्ट्र बैंकले लघु वित्त कम्पनीहरुलाई मर्जमा जान प्रेरित गर्ने उदेश्यले हक प्रद सेयर जारी नगर्नु भनेको छ । हामीले पनि त्यसमा सहमति नै दिएका छौं । अबको मौद्रिक नीति मार्फत लघु वित्त कम्पनीहरुलाई मर्जरमा जानै पर्ने व्यवस्था आउन सक्छ ।
अहिले सञ्चालनमा भएकालाई मर्जरमा पठाउने अनि नयाँलाई लाइसेन्स दिने कुरा जायज हुन्छ र ?
यो बिषयमा हामीले पनि केन्द्रिय बैंकसँग आफ्नो धारणा राखिरहेका छौं । उहाँहरुका पनि आफ्नै बाध्यताहरु होलान् । त्यसैले आवेदन दिएकाहरुलाई मात्रै लाइसेन्स दिन्छौं भनिरहनु भएको छ । अहिले ९९ वटा सस्था छन् । अब ५ वटा थपिएर ११४ वटा पुग्छन् ।
नेपाल जस्तो सानो देश र सानो अर्थतन्त्रमा एक सय भन्दा बढी लघुवित्त कम्पनी आवश्यक हुन्छन र ?
यो खुल्ला बजार अर्थतन्त्र भएको मुलुक हो । यहाँ संस्थाहरु आउँछन्, सके टिक्छन नसके जान्छन् । साना पुँजीका संस्था धेरै भए भनेर नै केन्द्रिय बैंकले मर्ज गरेर जाने भन्ने नीति लिएको देखिन्छ । हामी पनि त्यसमा सहमत छौं । मर्ज गरेर जाँदा पुँजी पनि बढ्छ र संस्थाहरु पनि बलियो हुन्छन् ।
नेपालका लागि कतिवटा लघु वित्त कम्पनी आवश्यक होलान् ?
संख्या तोक्न त मुस्किल नै होला । तै पनि अर्थतन्त्रको आकार र विकासक्रम हेर्दा ३०/४० वटा संस्था भयो भने पुग्छ सायद । त्यति संख्याका लागि भने बजारमा पर्याप्त अवसर छ ।
आजका दिनमा लघु वित्त कम्पनीको सेयरमा गरिएको लगानीको भविष्य के होला ?
लघु वित्त कम्पनीको सेयरमा लगानी गर्नु हिजो पनि राम्रो थियो । आज पनि राम्रै छ भोली झन राम्रो हुनेछ । किन भने अब मर्ज भएर ठुलो पुँजी, ठुलो बजार र ठुलै अवसरसहित लुघवित्त कम्पनीहरु आउनेछन् । जसले लगानीकर्तालाई राम्रो प्रतिफल दिनेछ । मर्ज भएर आएका संस्थाहरुको प्रतिफल त झनै राम्रो नै हुनेछ ।
लघु वित्त क्षेत्रका समस्या के के रहेछन् ?
बहु कर्जाको समस्या नै हाम्रो लागि सबै भन्दा ठुलो चुनौती हो । त्यसैले कर्जा सूचना मार्फत यसलाई रोक्ने प्रयास गरेका हौं । रेगुलेटरहरुले पनि अलि चनाखो भैदिए हुने थियो भन्ने हो ।
अन्त्यमा केहि भन्नु छ ?
लघु उद्यमशिलताका क्षेत्रमा लघु वित्तको राम्रो योगदान छ । कृषिको क्षेत्रमा राम्रो अवसर पनि छ । निजी बैैंकहरुलाई १० प्रतिशत लगानी कृषिमा गर्नु भन्ने केन्द्रिय बैंकको निर्देशन छ । तिनले कृषिमा लगानी गर्ने भनेको हामी मार्फत नै हो । हाम्रो कुल लगानीको ८० प्रतिशत जति कृषि क्षेत्रमा जाने गरेको छ । देशको विकासका लागि कृषि नै उत्तम उपाय हो । कृषिमा लघु वित्त क्षेत्रले प्राथमिकता दिएका छन् । गाउँपालिकाका प्राविधिकहरुले किसानलाई तालिम दिने अनि लघु वित्तले पुँजी दिने हो भने ग्रामिण अर्थतन्त्रसँगै देशकै उन्नति हुनेछ ।