नेपालमा ५ लाख कम्पनी, फर्म, सहकारी र गैरसरकारी संस्था दर्ता, १६ जना बराबर १ संस्था

<p>काठमाडौं । नेपालमा ४ लाख ५४ हजार कम्पनी, फर्म, सहकारी र गैरसरकारी संस्था दर्ता भएका छन् । नेपालमा सक्रिय जनसंख्या ७५ लाख ६८ हजार १८६ छ । नेपालको सक्रिय जनसंख्या र संघसंस्था दर्ता संख्यालाई तुलना गर्दा १६ जना व्यक्ति बराबर १ संस्था दर्ता भएको देखिन्छ । कम्पनी रजिष्ट्रारको कार्यालय, सहकारी विभाग, केन्द्रीय तथ्याङक विभाग, गैरसरकारी [&hellip;]</p>


काठमाडौं । नेपालमा ४ लाख ५४ हजार कम्पनी, फर्म, सहकारी र गैरसरकारी संस्था दर्ता भएका छन् । नेपालमा सक्रिय जनसंख्या ७५ लाख ६८ हजार १८६ छ । नेपालको सक्रिय जनसंख्या र संघसंस्था दर्ता संख्यालाई तुलना गर्दा १६ जना व्यक्ति बराबर १ संस्था दर्ता भएको देखिन्छ ।

कम्पनी रजिष्ट्रारको कार्यालय, सहकारी विभाग, केन्द्रीय तथ्याङक विभाग, गैरसरकारी संस्था महासंघ र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको तथ्याङ्कले ४ लाख ५४ हजार संघसंस्था दर्ता भएको देखाउँछ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार हाल नेपालको कूल जनसंख्या २ करोड ९५ लाख ७ हजार १८२ रहेको छ । जस मध्ये १८ वर्ष मुनिका १ करोड २१ लाख ८० हजार २२६ जना र ६० वर्षभन्दा माथिका १७ लाख ९८ हजार ७७० जना रहेका छन् । ८० लाख नेपालीहरु विदेशमा भएको अनुमान छ ।

नेपालको जनसंख्या मध्ये १८ वर्षदेखि ६० वर्षसम्मका सक्रिय जनसंख्या ७५ लाख ६८ हजार १८६ मात्रै रहेका छन् । वृद्धबृद्धा र बालबालिकाहरुको संख्या १ करोड ९७ लाख ७८ हजार ९९६ जना रहेको छ ।

कुन कार्यालयमा कति संस्था दर्ता ?
कम्पनी रजिष्ट्रारको कार्यालयमा निजी, सार्वजनिक, मुनाफा वितरण नगर्ने र विदेशी गरी २ लाख १२ हजार ७९१ कम्पनी दर्ता भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार निजी, साझेदारी र एजेन्सी गरी १ लाख ५६ हजार ९७९ फर्म दर्ता भएका छन् । कम्पनी रजिष्ट्रार कार्यालयमाबाट दर्ता भएका ४७२ वटा खारेजी भएका छन् भने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता भएका ३ हजार ९० वटा फर्म खारेजी भएका छन् ।

कुन प्रदेशमा कति ?
कम्पनीहरु मध्ये अहिलेसम्म सबैभन्दा धेरै प्रदेश नम्बर ३ मा दर्ता भएका छन् । प्रदेश नम्बर ३ मा निजी १८ हजार १४३, सार्वजनिक २४७, मुनाफा वितरण नगर्ने ६२९ र विदेशी ९२ वटा कम्पनी दर्ता भएका छन ।

प्रदेश नम्बर १ मा निजी ६६४, सार्वजनिक ३६ र मुनाफा वितरण नगर्ने ५० वटा कम्पनी दर्ता भएका छन् । प्रदेश नम्बर २ मा निजी ८ हजार ८५३, सार्वजनिक ३४, मुनाफा वितरण नगर्ने १०४ र विदेशी २ वटा कम्पनी दर्ता भएका छन् ।

गण्डकी प्रदेशमा निजी २ हजार ७६६, सार्वजनिक २३ र मुनाफा वितरण नगर्ने ३० वटा कम्पनी दर्ता भएका छन् । प्रदेश नम्बर ५ मा निजी १७ हजार ९९, सार्वजनिक १०८, मुनाफा वितरण नगर्ने ८८ र विदेशी १ वटा कम्पनी दर्ता भएका छन ।

कर्णाली प्रदेशमा निजी ८७५, पब्लिक ४ र मुनाफा वितरण नगर्ने २१ वटा कम्पनी दर्ता भएका छन् । सुदूरपश्चिम प्रदेशमा निजी ८६६, सार्वजनिक १ र मुनाफा वितरण नगर्ने १२ वटा कम्पनी दर्ता भएका छन् ।

बढ्दैछ फर्म दर्ता संख्या
२०७४ को तुलनामा २०७५ मा नयाँ फर्म दर्ताको संख्यामा वृद्धि भएको छ । ०७४ मा नयाँ १६ हजार ९३७ वटा फर्म दर्ता भएको थिए भने ०७५ मा २९ हजार ६६७ वटा नयाँ फर्म दर्ता भएका छन् । २०७४ को तुलनामा २०७५ मा १२ हजार ७३० वटा नयाँ फर्म दर्ता भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

सहकारी विभागको तथ्याङ्क अनुसार नेपालमा हाल ३४ हजार ५१२ सहकारी दर्ता भएका छन् । यता, गैरसरकारी संस्था महासंघले दिएको जानकारी अनुसार नेपालमा हाल ४९ हजार ९४१ वटा गैसस दर्ता भएका छन् ।

Share News