काठमाडौं । एक महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाका ३२४ ओटा शाखाहरु विस्तार भएका छन् । फागुन महिनाभरिमा उक्त संख्यामा शाखा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ । आर्थिव वर्षको पहिलो ८ महिनामा भने जम्मा १४३७ ओटा शाखाहरु विस्तार भएका छन् ।
विस्तार भएका शाखामध्ये ३९ ओटा वाणिज्य बैंक, १५ ओटा विकास बैंक, ३ ओटा फाइनान्स कम्पनी र बाँकी २६७ ओटा लघुवित्त संस्थाहरु रहेको राष्ट्र बै्रकले जनाएको छ ।
उक्त संख्यामा शाखा विस्तार गरेसँगै फागुन महिनासम्ममा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ८ हजार ५५ पुगेको छ । उक्त संख्यामध्ये ३३०५ वाणिज्य बैंक, ११९६ ओटा विकास बैंक, २०० ओटा फाइनान्स कम्पनी र ३३५४ ओटा लघुवित्त कम्पनी छन् । फागुन महिनामा वाणिज्य बैंकहरुको शाखा संख्यालाई लघुवित्तको संख्याले उछिनेको छ ।
वाणिज्य बैंकहरुले भने हालसम्म देशरका ७११ ओटा स्थानीय तहमा शाखा विस्तार गरेका छन् भने बाँकी ४२ ओटामा विस्तार हुन बाँकी छ ।
शाखा विस्तारसँगै बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जाको आकार समेत बढेको छ । फागुन मसान्तसम्म ३१११ अर्ब ४८ कराेड निक्षेप संकलन गरी बैंकहरुले २७८६ अर्ब ६६ कराेड कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको क्रमशः ८.७ प्रतिशत र ९.२ प्रतिशत हो । फागुन महिनामा भने निक्षेपको आकार ९ प्रतिशतले बढ्दा कर्जा १३ प्रतिशतले बढेको छ ।
व्यवसायकाे आकार बढ्दै जाँदा वाणिज्य बैंकहरुको औसत आधारदर तथा ऋणकाे औसत ब्याजदर घटेकाे छ । माघ महिनामा १०.३६ प्रतिशत रहेकाे आधारदर फागुनमा ९.६५ प्रतिशत र ऋणकाे भारित औसत ब्याजदर एक महिनामा १२.३३ बाट ११.९६ प्रतिशतमा झरेकाे हाे ।
कृषि व्यवसाय गर्ने १४ हजारलाई सस्तो ब्याजको ऋण
सरकारको सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत कृषि व्यवसायमा लाग्ने १४११३ जना कृषकहरुलाई ५ प्रतिशत ब्याज अनुदानसहित सहुलियतपूर्ण कर्जा पाएका छन् । राष्ट्र बैंकका अनुसार उक्त संख्याका ऋणीहरुलाई जम्मा २३ अर्ब ४१ करोड रुपैंया ऋण दिएकोमा सरकारले ९८ करोड २२ लाख ब्याज अनुदान दिइएको हाे ।
अघिल्लो महिनामा यो संख्या १० हजार ४८७ जना थियो भने कुल कर्जा प्रवाह १८ अर्ब ६४ करोड रुपैंया वितरण भई व्याज अनुदान ८८ करोड ५५ लाख प्रदान गरिएको थियो । यी दुई आँकडा अनुसार एक महिनामो अवधिमा थप ३६२६ जनाले उक्त ऋण पाएकोमा थप ४ अर्ब ७७ करोड रुपैंया कर्जा प्रवाह भएको देखिएको छ ।
भुकम्पपीडितका लागि निजी आवास अनुदानका लागि भने हालसम्म १५७७ जनाले २ अर्ब ६८ करोड रुपैंया ऋण लिएका छन् । फागुन महिनामा उक्त संख्या १ जनामात्र थपिएको तथ्याङ्कमा उल्लेख छ ।