सरकार लगानीकर्ताले खोजे अनुसारको वातावरण दिन तयार छः अर्थमन्त्री

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्ताहरुले खोजे अनुसारको लगानीको वातावरण दिन सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघमा मंगलबार नेपाली र फ्रेन्च उद्यमी व्यवसायीहरू बीच नेपालमा संयुक्त लगानी सहकार्यका सम्भाव्यता खोजी गर्ने विषयमा भएको छलफल कार्यक्रममा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । उक्त अवसरमा अर्थमन्त्री खतिवडाले नेपाल बाह्य लगानी आकर्षण गर्नमा [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्ताहरुले खोजे अनुसारको लगानीको वातावरण दिन सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघमा मंगलबार नेपाली र फ्रेन्च उद्यमी व्यवसायीहरू बीच नेपालमा संयुक्त लगानी सहकार्यका सम्भाव्यता खोजी गर्ने विषयमा भएको छलफल कार्यक्रममा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

उक्त अवसरमा अर्थमन्त्री खतिवडाले नेपाल बाह्य लगानी आकर्षण गर्नमा सबै हिसाबले तयारी अवस्थामा रहेको र नेपालमा लगानीको पूर्ण वातावरण भएकाले निर्धक्क भएर लगानी गर्न फ्रान्सेली कम्पनीहरूलाई आग्रह गरे । नेपाल र फ्रान्स बीचको दौत्य सम्बन्ध जतिकै आर्थिक सम्बन्ध पनि मजवूद हुनु पर्नेमा उनको जोड थियो । नेपालमा लगानी बढाउने इच्छाले यहाँ आएकोमा सरकारको तर्फबाट फ्रेन्च प्रतिनिधि मण्डललाई स्वागत गर्दै भने–फ्रान्सेली कम्पनीका लगानीकर्ता, उद्यमी व्यवसायीहरूसँग सहकार्यका विषयमा छलफल भइरहेको छ ।

फ्रान्सेली कम्पनीहरूका तर्फबाट जल तथा नविकरणीय उर्जा, सूचना तथा संचार प्रविधि, दीगो र स्मार्ट शहरीकरण, कृषि तथा खाद्य प्रशोधन, शहरी, यातायात, फोहर व्यवस्थापन लगायतका क्षेत्रमा सहकार्यको सम्भाव्यता रहेको अर्थमन्त्री खतिवडाले बताए ।

कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाले नेपाल लगानीको लागि भर्जिन ल्याण्ड भएको बताइन् । सवै क्षेत्रमा उत्तिकै सम्भावना छन्, नीतिगत तथा कानूनी सुधार भएको छ । सवै भन्दा ठूलो कुरा नेपाल सरकार, राजनीतिक दलहरू र निजी क्षेत्र सबै नै बाह्य लगानी आकर्षणको अभियानमा छन् । अध्यक्ष राणाले भनिन्–यो समय लगानीका लागि सबैभन्दा उपयुक्त समय हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बैदेशिक लगानी भित्र्याउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा दिल्लीस्थित फ्रान्सेली राजदूतावासका क्षेत्रीय आर्थिक विभाग प्रमुख एवम् मिनिष्टर अफ काउन्सिलर जो मार्ड फनेले नेपालमा लगानी विस्तार गर्न फ्रान्सेली लगानीकर्ता इच्छुक रहेको बताए । नेपालमा लगानी सम्मेलन भर्खरै सम्पन्न भएको र नेपाल सरकार पनि यसमा निकै गम्भीरतापूर्वक क्रियाशील रहेको आफूहरूले पाएकोले नेपालमा फ्रान्सेली लगानीको सम्भाव्यता खोजी गर्न आफूहरू यहाँ आएको बताए ।

छलफलमा छिमेकी भारत तथा फ्रान्समा लगानी गरिरहेका १५ वटा प्रतिष्ठित फ्रान्सेली कम्पनीका प्रतिनिधिहरु सहभागी रहेका थिए ।कार्यक्रममा महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, चन्द्रप्रसाद ढकाल, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी लगायत सहभागी थिए ।

Share News