काठमाडौँ । आर्थिक बर्ष २०७५/७६ को दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको छ । बैठकमा अर्थ मन्त्रालय र मातहतका निकायहरुबाट सम्पादन हुने कार्यहरुलाई यथाशीघ्र सम्पन्न गर्न अर्थमन्त्री डा. खतिवडाले निर्देशन दिए ।
बजेट कार्यान्वयनलाई उपलब्धीमूलक बनाउन तर्जुमा गर्नु पर्ने र संशोधन गर्नुपर्ने बाँकी कानूनहरुको शीघ्र तर्जुमा गर्ने, राजस्व परिचालनमा बिलिङ्ग कार्यान्वयन र बजार अनुगमनलाई थप तिव्रता दिने, नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना बमोजिमका कार्यहरुको समयमा कार्यान्वयन गर्न जिम्मेवार भई कार्यसम्पादन गर्न समेत निर्देशन दिए ।
अन्तर प्रदेश परिषद एवम् अन्तर सरकारी वित्त परिषदको निर्णय कार्यान्वयन गर्न र आगामी आर्थिक बर्षको बजेट तर्जुमामा वित्तीय संघीयता प्रभावकारी कार्यान्वयन गर्न समेत निर्देशन उनले निर्देशन दिए । उक्त बैठकमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष कँडेलले आर्थिक बर्षको बाँकी अवधिमा लक्ष्य अनुरुप कार्य सम्पादन गर्न जोड दिदै अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको वीचमा आगामी बजेट तर्जुमामा प्रभावकारी सहकार्य गर्नुपर्ने बताए ।
अर्थ सचिव डा. राजन खनाल, सचिव (राजस्व) लालशंकर घिमिरे, गभर्नर डा निरञ्जीवी नेपाल र महालेखा नियन्त्रक सूर्यप्रसाद गौतम समेतको उपस्थिति रहेको सो कार्यक्रममा महाशाखा प्रमुख, विभागीय प्रमुख, नियामक निकायमका प्रमुख र आयोजना प्रमुखहरुले आ–आफ्नो निकायको प्रगति अवस्था र कार्यान्वयनको क्रममा देखा परेका समस्याको बारेमा संक्षिप्त प्रस्तुति गर्नुका साथै चालु आव २०७५/७६ को नीति तथा कार्यक्रम र बजेट बक्तब्यमा उल्लेखित कार्यक्रमहरुको बाँकी अवधिमा कार्यसम्पादन गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
बैठकमा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले गत एक बर्षको अवधिमा अर्थ मन्त्रालय र अन्तर्गत भएका उपलब्धीका बारेमा प्रस्तुत गरे । अर्थ मन्त्रालयले विगत एक बर्षमा कानून निर्माण, वित्तीय संघीयता कार्यान्वयन, वित्तीय क्षेत्र ब्यवस्थापन र राजस्व प्रशासनमा सुधार लगायतमा ठोस प्रगति हासिल गरेको जानकारी दिए ।
बैठकमा समग्र बजेट खर्च स्थिति, अर्थ मन्त्रालयको खर्च स्थिति, बार्षिक लक्ष्य र प्रगति विवरण, आयोजना र कार्यक्रम कार्यान्वयनमा देखिएको केही तथ्य र प्रगति बारे संक्षिप्त प्रस्तुति भएको थियो । अर्थ मन्त्रालय र मातहतका निकायले चालु आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेट बक्तब्यमा उल्लेखित कार्यक्रमहरुको कार्ययोजना बमोजिमको प्रथम आठ महिनामा प्रगति अवस्थाको विवरण समेत प्रस्तुत भएको थियो ।