काठमाडौं । मार्च २४ तारिख शेयर बजार परिसूचक नेप्से ११३४ विन्दुमा कायम थियो । त्यसपछिको १० दिनको कारोबारमा नेप्से परिसूचकले झिनो गिरावटको अवस्थाबाहेक पछाडि फर्केर हेर्नु परेको छैन । यो दश कारोबार दिनमा नेप्से परिसूचकले करिब ४८ अंकको वृद्धि हासिल गर्न सफल भएको छ । उक्त वृद्धिमा मंगलबारकाे १४ अंक र आजकाे १७ अंककाे वृद्धि महत्वपूर्ण रहे पनि अन्य दिनहरुमा समेत आशलाग्दाे रुपमा बजार बढ्दै गएकाे छ ।
याे अवधिमा बजार ४८ अंकले बढेको मात्रै छैन, कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । आइतबार पनि कुल कारोबार ५४ करोड नाघ्यो, गत हप्ता बिहीबार ४२ करोड, बुधबार ५४ करोड, मंगलबार ५० करोड कारोबार भएको थियो । अघिल्लो साता मात्रै कुल कारोबार मात्रै २ अर्ब ८ कराेड पुगेको थियो ।
शेयर बजारमा परिसूचकलाई मात्रै प्रमुख मानिँदैन, कारोबारको आकार, माग र आपुर्तिको पक्षलाई अर्को प्रमुख सूचकको रुपमा लिइन्छ भलै सूचकको वृद्धि र गिरावटमा धेरैको ध्यान केन्द्रित किन नहोस् । त्यसो त परिसूचकको गिरावटसँग पोर्टफोलियोको आकारको प्रत्यक्ष सरोकार हुने भएकोले इन्डेक्स बढ्दा खुसी र घट्दा निराश हुनेको संख्या धेरै हुन्छ, तर एउटा विवेकशील लगानीकर्ता वा स्पेकुलेटरले कारोबारलाई पनि महत्वपूर्ण सूचकको रुपमा लिन्छ ।
बिक्रीको चापले सामान्यतया बजारलाई तलतिर झार्छ भने खरिदमा हुने चापले यसलाई माथितिर तान्छ । यसरी बजार बढ्दै गएको छ र कारोबार पनि बढ्दै गएको छ भने अझै बजार चलायमान छ वा बजारले त्यो गतिलाई अझै पछ्याउँछ भन्ने अर्थ लाग्छ । त्यसको ठीक उल्टो घट्दो बजारमा कारोबार कम छ, यसले थप गिरावटको संकेत गर्छ । अहिले बजारको अवस्थाले शेयर बजारले सुधारात्मक गति समातेको संकेत गरेको छ ।
किन बढ्यो शेयर बजार ?
सरकारले शेयर बजारमा गरेको सुधारको प्रतिवद्धता र नियामकहरुले त्यसका लागि गरेको प्रयास, लगानी सम्मेलनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानीकर्ताको संरक्षणका लागि सरकारले गरेको प्रतिवद्धता, पुँजी बजारमा थपिँदै गरेको नयाँनयाँ आयामहरु जस्तै मार्जिन लेन्डिङ, ब्रोकरको शाखा विस्तारका लागि भएका प्रयास, शेयरको क्रसबोर्डर लिस्टिङ र ट्रेडिङका प्रयासहरु तथा अन्य आधारभूत प्रयासहरुको कारणले लगानीकर्ताहरुमा बजारको दीगोपनप्रति केही हदसम्म विश्वास जाग्दै गएको विश्लेषण बजारमा गर्न थालिएको छ ।
अर्को महत्वपूर्ण पक्ष के हो भने, बजारको पछिल्लो गिरावटमा तुलनात्मक रुपमा कम शेयरमूल्य भएका र धेरै शेयर हिस्सा भएका बैंक तथा वित्तीय संस्थाहरुका शेयरको उछालको हिस्सा महत्वपूर्ण छ । आइतबारको शेयर बजारमा पनि मुख्यतः वाणिज्य बैंक र विकास बैंक समूहकै प्रमुख योगदान छ । यसैल पनि बजारको पछिल्लो वृद्धिलाई सस्टेनेबल ग्रोथको रुपमा परिभाषित गर्न थालिएको हो ।
यद्यपि नेपाली शेयर बजारमा ठूला स्पेकुलेटरहरु हाबी भएको र प्रोफिट बुकिङमा हतारिने लगानीकर्ताको जमात पनि ठूलो भएकोले शेयर किन्ने वा बेच्ने निश्कर्षमा पुग्नु अघि बजारको अध्ययन र सम्बन्धित कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्षको विश्लेषण आवश्यक हुन्छ ।