काठमाडौँ । मध्य युरोपेली मुलुक चेक गणतन्त्रको यात्रा गर्न चाहने नेपाली नागरिकको सहजतालाई ध्यानमा राखेर भीएफएस ग्लोबलले काठमाडौंमा चेक गणतन्त्र भिसा आवेदन केन्द्र संचालनमा ल्याएको छ ।
यसअघि चेक गणतन्त्र भिसा आवेदन प्रक्रियाका लागि आवेदकहरु भारतको नयाँ दिल्लीस्थित दूतावासमा जानुपथ्र्यो ।
नेपालका लागि चेक गणतन्त्रका राजदूत मिलान होभोर्का र नेपालका लागि अवैतनिक महावाणिज्यदूत विष्णुकुमार नयाँ सुविधाको औपचारिक उद्घाटन गरे ।
चेक गणतन्त्र जाने नेपालीहरुको संख्या निरन्तर बढिरहेको छ । सन् २०१८ मा चेक गणतन्त्रको भिसाका लागि भिसा आवेदन दिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढेको थियो । हरेक वर्ष आवेदनको संख्या बढ्दै गएकोले नेपाली आवेदकको सहजताका लागि भीएफएस ग्लोबलले काठमाडौंमा चेक गणतन्त्रको भिसा सम्बन्धी काम कारबाही सुरु गरेको हो ।

चेक गणतन्त्रसँगै भीएफएस ग्लोबलले नेपालबाट भिसा प्रक्रिया संचालन गर्ने मुलुकको संख्या २० पुगेको छ । भीएफएस ग्लोबलले सन् २००८ देखि चेक गणतन्त्रको सरकारसँग सहकार्य गर्दै आएको छ ।
हाल भीएफएस ग्लोबलले २५ मुलुकमा एक सयभन्दा बढी भिसा आवेदन केन्द्रहरु संचालन गरिरहेको छ ।