काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल ३० वटाभन्दा बढी विषयमा छानबिन गरिरहेको जनाएको छ । आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भ्रष्टाचारका विषयमा ठूला धनराशिका ३० भन्दा बढी विषयमा सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएका हुन् ।
प्रमुख आयुक्त घिमिरेले वाइड वडी खरिदमा भएको भ्रष्टाचारका विषयमा २१ जनाको वयान सकिएको बताए । सञ्चालक समिति र पदाधिकारीसँग वयान लिने क्रम जारी रहेको उनले बताए । एसइईको प्रश्नपत्र बाहिरिएको विषयमा अख्तियार पनि प्रवेश गर्ने उनले बताए ।
एसइईको परीक्षामा प्रश्नपत्र बाहिरिँदा तराईका आठ जिल्लाको परीक्षा स्थगित भएको छ। साझा प्रकाशनका पूर्वअध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माको अनुसन्धान प्रारम्भिक तहबाट विस्तृत अध्ययनमा पुगेको उनले बताएका छन्। साझा प्रकाशनको कोष हिनामिना, अनावश्यक नियुक्ति, साझाको लोगो दुरुपयोगलगायतका आरोपमा उनीविरुद्ध अख्तियारमा समेत मुद्दा परेको थियो । २०७२ सालदेखि नै साझा प्रकाशनमा शर्मा विवादित बन्दै आएका थिए ।
अनुचित कार्यको विषयमा अख्तियारले अध्ययन गर्न नपाउँदा पनि भ्रष्टाचार नियन्त्रण गर्न कठिनाइ हुँदै आएको प्रमुख आयुक्त घिमिरेले बताए । उनले संविधान संशोधन गरेर अनुचित कार्य अख्तियारले हेर्ने व्यवस्था गर्नुपर्ने बताए । अख्तियारलाई अनुसन्धान गर्नका लागि सार्वजनिक ऐन पनि बाधक भएका कारण ऐन संशोधनका लागि ड्राफ्ट नै बनाएर मन्त्रिपरिषद्मा पठाएको उनले बताए । कोसी नदीमा रहेको श्रीलंका टापुको विषयमा आयोगले गम्भीररूपमा लिएको प्रमुख आयुक्त घिमिरेले बताए ।
अख्तियारमा चालु आर्थिक वर्षको चैत १५ गतेसम्म घुस/रिसवतका ८९, नक्कली शैक्षिक प्रमाणपत्रका ६३, सरकारी अनुदान/अन्य रकम हिनामिना १८, गैरकानूनी सम्पत्ती आर्जन ७, राजस्व हिनामिना ४, गैरकानुनी लाभहानी÷विविध गरी २ सय २० वटा मुद्दा रहेको अख्तियारले जनाएको छ । अहिले अख्तियारमा ८ हजार ८ सय ८० उजुरी रहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।