
हेटौंडा । ३ नम्बर प्रदेश सरकारले बारा र पर्सा हावाहुरी पिडितलाई १ करोड सहयोग गर्ने घोषणा गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले गत १७ गते राती आएको हावाहुरीका कारण घरबार बिहिन जनताको आवास निर्माणका लागि राहत स्वरुप १ करोड सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले २ नम्बर प्रदेश सरकार मार्फत पीडितलाइ राहत रकम पठाउने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
सोमबार मुख्यमन्त्री पौडेलसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्रीसहितको टोली प्रभावित क्षेत्रको निरिक्षण गरेर फर्केको थियो । निरिक्षण कै क्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका थिए ।
प्रभावित क्षेत्रको निरिक्षण पश्चात बाराको कलैया अस्पताल र वीरगंजको नेशनल मेडिकलमा गएर घाईतेहरुको अवस्थाको जानकारी लिएका थिए । प्रारम्भिक रुपमा एक करोड सहयोग गरेपनि अन्य विभिन्न खाले सहयोग पनि जारी रहने मुख्यमन्त्री पौडेलले जानकारी दिए ।
यस्तो विपदको घडिमा यो वा त्यो प्रदेश नभनी सहयोग गर्नुपर्ने उनको भनाई थियो । साथै मुख्यमन्त्री पौडेलले घटनाप्रति दुःख ब्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली तथा आफन्तजनप्रति समवेदना र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना समेत व्यक्त गरे ।
यता, सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश २ को बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले हावाहुरीबाट विस्थापित भएका पीडितहरुका लागि एक करोड रकम सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।