४० वर्षपछि धावनमार्ग कालोपत्रे गर्न सुरु, विमानस्थल १० घन्टा बन्द

<p>काठमाडौँ । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ४० वर्षपछि पहिलोपटक पूर्ण रूपमा नयाँ किसिमले कालोपत्रे गर्न सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन अर्ब रुपियाँभन्दा बढी लगानीमा सोमबारदेखि धावनमार्गसहित ‘ट्याक्सी वे’को कालोपत्रे गर्न सुरु गरेको हो । विमानस्थल सञ्चालनको समय घटाएर नै कालोपत्रे सुरु गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सोमबारदेखि करिब [&hellip;]</p>


काठमाडौँ । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ४० वर्षपछि पहिलोपटक पूर्ण रूपमा नयाँ किसिमले कालोपत्रे गर्न सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन अर्ब रुपियाँभन्दा बढी लगानीमा सोमबारदेखि धावनमार्गसहित ‘ट्याक्सी वे’को कालोपत्रे गर्न सुरु गरेको हो । विमानस्थल सञ्चालनको समय घटाएर नै कालोपत्रे सुरु गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सोमबारदेखि करिब तीन महिनाका लागि विमानस्थल १० घन्टा बन्द रहनेछ । विमानस्थल आइतबारसम्म बिहान ५ बजेदेखि राति ३ बजेसम्म २२ घन्टा सञ्चालन हुँदै आएको थियो । सोमबारदेखि भने बिहान ८ बजेदेखि राति १० बजेसम्म १४ घण्टा मात्र सञ्चालन हुनेछ । कालोपत्रको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म हुनेछ ।

विमानस्थलको कालोपत्रे पुरानो भएको र यसले सुरक्षा जोखिम निम्त्याउन सक्ने भन्दै प्राधिकरणले पूर्ण रूपमा नयाँ कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाएको हो । गत पुसमा प्राधिकरणले कालोपत्रेका लागि चिनियाँ कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता गरेको थियो । सम्झौता अनुसार ७० दिनभित्र कालोपत्रे सम्पन्न गर्नुपर्ने भए पनि प्राधिकरणले तीन महिनाको समय उपलब्ध गराएको छ ।

कालोपत्रेको काम सुरु भएपछि उडान पनि प्रभावित हुने भएका छन् । खास गरी बिहानीको समयमा हुने आन्तरिक उडानहरूको तालिकासमेत फेरिएको छ । त्यस्तै कतिपय अन्तर्राष्ट्रिय उडान गर्दै आएका हवाई कम्पनीलाई त्यसैअनुसार तालिका व्यवस्थापनको लागि आग्रह गरिएको विमानस्थलले जनाएको छ । काठमाडौँ विमानस्थलबाट बिहान लुक्ला उडान गर्ने सबै तालिका रामेछाप विमानस्थलबाट गर्ने गरी सारिएको छ ।

प्राधिकरणका अनुसार करिब तीन हजार ५० मिटर लम्बाइको धावनमार्गमा हरेक दिन करिब ७० मिटरका दरले नयाँ कालोपत्रे हुनेछ । पुरानो कालोपत्रे उप्काएर त्यसै दिन नै कालोपत्रे गरेर अर्को दिनका लागि उडान योग्य बनाइने प्राधिकरणले जानकारी दिएको छ ।

कालोपत्रेको काम सुरु भए पनि वायुसेवा सञ्चालक सङ्घले सोमबार एक विज्ञप्ति जारी गर्दै तीन महिनाका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान बन्द गरिने जनाएको छ । त्यस्तै सङ्घले यस अवधिमा प्राविधिक कारणले उडान तालिका रद्ध हुन पुगेमा अर्को डिले उडान पाउने सम्भावना नरहेको समेत जानकारी गराएको छ । यसबीचमा करिब २० प्रतिशत आन्तरिक उडान कटौती गर्नुपर्ने अवस्था रहेको सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Share News