हावाहुरी पीडितलाई नेकपाका सांसदले एक दिनको, काङ्ग्रेस सांसदले दुई दिनको पारिश्रमिक दिने

<p>काठमाडौँ । बारा र पर्साका हावाहुरी पीडितलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ आज एक विज्ञप्ति जारी गरी प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले घाइते भएका सर्वसाधारणप्रति सहानुभूति प्रकट गर्दै यथाशीघ्र [&hellip;]</p>

काठमाडौँ । बारा र पर्साका हावाहुरी पीडितलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ आज एक विज्ञप्ति जारी गरी प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

उनले घाइते भएका सर्वसाधारणप्रति सहानुभूति प्रकट गर्दै यथाशीघ्र स्वास्थ्यलाभको कामना गरे । उपनेता नेम्वाङले पीडितलाई राहत, क्षतिपूर्तिका साथै घाइतेको उपचारका लागि यथाशीघ्र उचित प्रबन्ध गर्न सरकारको ध्यानकर्षणसमेत गराएका छन् ।

काङ्ग्रेस सांसदले दुई दिनको पारिश्रमिक दिने

यता, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सङ्घीय सांसदहरुले हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप दुई दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

आइतबार राति बारा, पर्सालगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप उक्त सहयोग गर्ने निर्णय गरिएको काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । सो विपद्मा २९ जनाभन्दा बढीको ज्यान गएको थियो भने सयौँ घाइते भएका छन् ।

राजपाले पाँच लाख सहयोग गर्ने
यता, राष्टिय जनता पार्टी नेपाल (राजपा) ले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरी प्रभावितलाई रु पाँच लाख सहयोग गर्ने भएको छ । राजपाका अध्यक्ष मण्डलका अध्यक्ष शरदसिंह भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै पीडितका लागि पार्टीले राहतस्वरुप रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको बताए ।

घटनाप्रति दुःख व्यक्त गर्दै राजपाले पूरै पार्टी पङ्क्तिलाई उद्धार कार्यमा यथाशीघ्र लाग्न आग्रह गरेको छ । साथै राहत सहयोग सङ्कलन गर्न तथा पीडित परिवारलाई सहयोग गर्न आम नागरिक, व्यवसायी तथा देश–विदेशमा रहेका सबैलाई अपिल गरेको छ ।

राजपाले प्राकृतिक विपत्को अवस्थामा प्रदेश दुई सरकारले देखाएको तत्परतको प्रशंसा गर्दै सङ्घीय सरकारलाई सहयोग गर्न आग्रह गरेको छ । बारा र पर्सामा आइतबार साँझ आएको आँधी, हावाहुरी र असिना पानीले हालसम्म २७ जनाको मृत्यु भएको छ । रासस

Share News