काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले बारा र पर्साका हावाहुरी पीडितका सहयोग गर्ने भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको सोमबार बसेको आकस्मिक बैठकले हावाहुरी पीडितका लागि ५० लाखको राहत कोष खडा गरेर पीडितलाई राहत वितरण गर्ने निर्णय गरेको छ ।
प्रभावित क्षेत्रमा खाद्यान्न, त्रिपाल, टेन्ट लगायतका अत्यावश्यक राहत सामाग्री तत्काल वितरण गर्न शुरु गर्ने निर्णय गरेको महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए ।
यता, नेपाल चेम्बर अफ कमर्शले हावाहुरी पीडितलाई आवश्यक त्रिपाल, टेन्ट र खाद्यान्न उपलब्ध गराउने भएको छ । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले तराईमा परेको विपत्तिप्रति दुःख व्यक्त गर्दै तत्कालै राहत सामाग्री उपलब्ध गराउने निर्णय भएको बताए ।