
काठमाडौँ । श्रम सम्बन्धी समस्याको बारेमा गुनासो र जिज्ञासा सहज रुपमा प्राप्त गर्न र तत्काल सम्बोधन गर्न श्रम मन्त्रालयमा कल सेन्टर स्थापना गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सोमबार एक कार्यक्रमका बीच कल सेन्टरको उद्घाटन गरेका हुन् । बैदेशिक रोजगार बोर्ड सचिवालयको व्यवस्थापनमा सो कल सेन्टर शुरु गरिएको हो ।
गुनासो गर्न वा जानकारी लिन चाहने सेवाग्राहीले स्वदेशबाट भए कल सेन्टरको सम्पर्क नम्बर ११४१ वा १६६००११५०००५ मा तथा विदेशबाट भए इमेल, फेसबुक, म्यासेन्जर, इमो, भाइवर जस्ता अनलाइन नेटवर्क मार्फत निःशुल्क रुपमा कल सेन्टरको सम्पर्क नम्बर ९७७१५९७०००८ मा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म सो कल सेन्टरमा फोन गर्न सकिने छ । सेवाग्राहीको संख्या र मागलाई ध्यानमा राखी भविश्यमा यो सेवालाई चौबीसै घण्टा गराउनेतर्फ मन्त्रालय अग्रसर हुने मन्त्री विष्टले बताए ।
कल सेन्टरमा कस्तो गुनासो/ जिज्ञासा राख्न पाइन्छ ?
कल सेन्टरमा वैदेशिक रोजगारीको क्रममा ठगीमा परेका वा स्वास्थ्य समस्याबाट पीडित भई घर फर्कन चाहनेहरु, झुठा मुद्दामा जेल सजाय भोगिरहेकाहरुलाई निःशुल्क कानूनी सहायताको आवश्यकता रहेकाहरुले अनुरोध गर्न सक्ने छन् । साथै बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण, शिप विकास तालिम र सुरक्षित बैदेशिक रोजगारीका लागि अपनाउनु पर्ने सावधानीका कुराहरु जानकारीहरु लिन सक्नेछन् ।

यसैगरी, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुने प्रक्रिया, यस सम्बन्धमा भोग्नु परेका समस्या र प्रधानमन्त्री रोजगार कार्यक्रमसँग सम्बन्धित जिज्ञासाहरु र भोग्नु परेका समस्याहरुबारे सिधै फोन गरी गुनासो गर्न वा जानकारी लिन सकिने बताइएको छ ।