
काठमाडौँ । पर्वतारोहीले आरोहणका क्रममा दस वर्षभन्दा पुराना अक्सिजन सिलिन्डर प्रयोग गर्न नपाउने भएका छन् । पुुराना सिलिन्डरले सुरक्षा जोखिम निम्त्याउन सक्ने भन्दै पर्यटन विभागले यस्तो व्यवस्था गरेको हो ।
मिति नाघेका सिलिन्डर प्रयोग गरेको अवस्थामा कारबाही हुने विभागले स्पष्ट पारेको छ । पुराना तथा म्याद गुज्रेका सिलिन्डरलाई नयाँ सिलिन्डरले प्रतिस्थापन गर्नुपर्ने व्यवस्थालाई विभागले अनिवार्य गरेको छ ।
यसबाहेक पनि विभागले सिलिन्डरसम्बन्धी निश्चित मापदण्ड नै तोकेर सो अनुसार हुनुपर्ने निर्देशन दिएको छ । विभागका अनुसार पर्वतारोहणका क्रममा प्रयोग हुने सिलिन्डर अमेरिकी र युरोपियन मापदन्डबमोजिमको हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै प्रयोग भएका जुनसुकै सिलिन्डर हरेक दुई÷दुई वर्षमा नियमित मर्मत हुनैपर्ने व्यवस्था गरिएको छ ।
पर्वतारोहीले आरोहणका लागि पर्याप्त सिलिन्डर बोक्नुपर्ने विभागले जनाएको छ । नयाँ मापदन्डअनुसार कम्तीमा दस घण्टाका लागि पुग्ने गरी अक्सिजन सिलिन्डर तयार गर्नुपर्नेछ । त्यसरी सिलिन्डरमा भरिएको अक्सिजन ‘ड्राई’ हुनुपर्ने व्यवस्था विभागले गरेको छ । त्यस्तै विभागले अत्यधिक मूल्यमा अक्सिजन किनबेच हुने प्रवृत्ति नियन्त्रणको प्रयास पनि गरेको छ । जसअनुसार प्रचलित मूल्यभन्दा बढी मूल्यमा अक्सिजन बिक्री वितरण गर्न नपाइने विभागले जनाएको छ । कसैबाट बढी मूल्यमा बिक्री भएको गुनासो आएमा अथवा अनुगमनबाट देखिएमा सम्बन्धितलाई कडा कारबाही गरिने विभागले जनाएको छ । विभागले तोकेका मापदन्डको कार्यान्वयन अवस्था बुझ्न अन्य सरकारी निकायको सहयोगमा अनुमगन टोली गठन गर्ने जनाएको छ ।
सिलिन्डरकै कारण पर्वतारोहणमा कुनै किसिमको जोखिम पैदा नहोस् भन्ने उद्देश्यले मापदन्ड तयार गरिएको विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।