काठमाडौं । लगानी सम्मेलनको तयारी पूरा भएको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकमा सम्मेलनको तयारीबारे जानकारी दिईएको थियो । बैठकमा लगानी सम्मेलनको तयारी पूरा भएको र ७७ वटा परियोजनामा लगानी आव्हान गरिने जानकारी दिईएको थियो ।

चैत १५ र १६ गते हुने सम्मेलनमा ६ सय जना विदेशी लगानी कर्ता सहभागी हुनेछन् । लगानीकर्ताका लागि तयार पारिएका ७७ मध्ये ५० सरकारी र २७ निजी क्षेत्रका आयोजना हुनेछन । यस अघि २०७२ असार १० गते लगानी सम्मेलन आयोजना गरिएको थियो जसमा १३ अर्ब भन्दा बढीको लगानी गर्ने आसय व्यक्त भएको थियो । सो आसयमध्ये २ खर्ब ९७ अर्बका आयोजनाहरुमा विभिन्न चरणमा काम भैरहेका छन् ।
एक दर्जन परियोजनामा सम्झौता
अर्थमन्त्री डा युवराज खतिवडाले सम्मेलनका क्रममा एक दर्जनजति परियोजनाका समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी दिए । ऊर्जा, पर्यटनजस्ता क्षेत्रसँग जोडिएका परियोजनाका प्रवद्र्धकसँग उक्त समझदारी हुने र थप विवरण भने बुधबार सार्वजनिक गरिने उनले जानकारी दिए । सम्मेलनमा विदेशी लगानीकर्ताका अलावा विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता बैंक तथा वित्तीय संस्थाकोसमेत सहभागिता रहनेछ ।
६०० बढी विदेशी लगानीकर्ता आउँदै
लगानी स्म्मेलनमा विभिन्न मुलुकका ६०० बढी प्रतिनिधि तथा लगानीकर्ता सहभागी हुने छन् । स्वदेशभित्रबाट पनि सहभागिताका लागि उत्साहपूर्ण चासो व्यक्त भएको छ । यस्तै विभिन्न देशमा रहेका गैरआवासीय नेपालीसमेत सहभागी हुनेछन् ।
सम्मेलन तयारीका बारेमा प्रधानमन्त्री र बोर्डका सदस्यलाई जानकारी गराउन आयोजना गरिएको उक्त बैठकमा सम्मेलनको तयारीबारेमा समीक्षा भएको उल्लेख गर्दै उनले स्वदेश तथा विदेशबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए ।
आतिथ्यतामा कसर नराख्नुः प्रधानमन्त्री
सम्मेलनको तयारीका बारेमा चासो व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागीलाई प्रदान गर्ने आतिथ्यतामा कुनै पनि कमी कमजोरी हुन नदिने गरी व्यवस्था मिलाउन निर्देशन दिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै अधिकारीले भने, “हाम्रा जे–जस्ता भौतिक संरचना छन् । त्यसआधारमा सहभागीलाई प्रदान गरिने कुनै पनि किसिमको आतिथ्यतामा कमी नहोस्, गुणस्तरीय सेवा दिनेतर्फ केन्द्रित हुनुहोस् ।”