मानव तस्करीका लागि सेटिङ मिलाउँछन् अध्यागमनका कर्मचारी

<p>काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ । विमानस्थल अध्यागमनका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर गएका ५ नेपाली युवालाई गत फागुन १७ मा अफ्रिकी राष्ट्र मरिससले फर्काइदिएको छ। फागुन १६ गते दुबई हुँदै मरिसस गएका रुकुम चौरजहारीका अविनाश नेपाली, हिमबहादुर बुढा, ओपेन्द्र बुढामगर, वीरेन्द्र बुढामगर र सल्यानका [&hellip;]</p>


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ । विमानस्थल अध्यागमनका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर गएका ५ नेपाली युवालाई गत फागुन १७ मा अफ्रिकी राष्ट्र मरिससले फर्काइदिएको छ।

फागुन १६ गते दुबई हुँदै मरिसस गएका रुकुम चौरजहारीका अविनाश नेपाली, हिमबहादुर बुढा, ओपेन्द्र बुढामगर, वीरेन्द्र बुढामगर र सल्यानका खिमबहादुर बस्नेतलाई त्यहाँको अध्यागमनले प्रवेश दिएन । मरिसस प्रहरी र अध्यागमनका कर्मचारीले धेरैबेर केरकार गरेपछि पाँचै जनालाई सोही दिन दुबई हुँदै नेपाल फिर्ता गरिदियो। उनीहरू पर्यटक भिसामा फागुन १६ गते काठमाडौंबाट दुबई हुँदै अफ्रिकी मुलुक मरिसस गएका थिए ।

अध्यागमन कर्मचारीले नै फागुन ७ मा ती ५ युवालाई कागजपत्र नमिलेको भन्दै फर्काइदिएका थिए। त्यसको एक सातापछि पुरानै कागजपत्रका आधारमा अध्यागमन कर्मचारीले उनीहरूलाई उडाए । सुरुमा प्रस्थान अनुमति नदिएका ५ जनालाई के कारणले पुरानै कागजपत्रका आधारमा कर्मचारीले प्रस्थान अनुमति दिए अनुसन्धानको विषय बनेको छ। मरिसस अध्यागमनले फर्काइदिएपछि रुकुम फर्केका अविनाशले पहिलो पटक जाँदा विमानस्थलले फकाईदिएको र त्यसको एक सातापछि प्रस्थान अनुमति दिएको बताए ।

‘फर्काएको एक सातामा नै फेरि के कारणले प्रस्थान अनुमति दिएको हो, त्यसबारे हामीलाई केही थाहा छैन’, उनले भने, ‘हामीलाई लैजानै मान्छेले नै एयरलाइन्स र अध्यागमनमा मिलाएका हुन्।’

आकर्षक जागीर मिलाइदिने प्रलोभनमा ५ जनाले प्रतिव्यक्ति ४ लाखका दरले मानव तस्करलाई रकम दिएका थिए। त्यही रकममा सेटिङ गर्ने देखि मरिससमा काम खोजिदिनेसम्म तस्कर समूहले जिम्मा लिएको थियो। उनीहरूको सञ्जालले एयरलाइन्स र अध्यागमनमा सेटिङ गरेका हुन्। उनीहरूले एयरलाइन्स र अध्यागमनमा सेटिङ गर्न कति रकम खर्चिए खुलेको छैन ।

विमानस्थल अध्यागमनका कर्मचारी भने श्रम छलेर जाने कसैलाई पनि प्रस्थान अनुमति नदिएको दाबी गर्छन्। मरिसस गएका ५ युवाबारे अध्यागमनकै अधिकांश कर्मचारी बेखबर छन्। विमानस्थल अध्यागमन कार्यालय प्रमुख कुमार खड्काले पर्यटक भिसामा मरिसस गएकोबारे आफूलाई कुनै जानकारी नभएको बताए। उनले भने, ‘केही युवालाई मरिससले फर्काएको भन्ने सुनेको छु। के रैछ म बुझ्दैछु ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

Share News