लगानी सम्मेलन: ऊर्जामा साढे १२ खर्ब जुटाइने

<p>काठमाडौँ । सरकारले काठमाडौंमा हुने लगानी सम्मेलनबाट जलविद्युत् क्षेत्रमा मात्र साढे १२ खर्ब रुपैयाँ लगानी जुटाउने तयारी गरेको छ । लगानी बोर्डले सरकारी ठूला ८ आयोजना र निजी क्षेत्रबाट प्रस्तावित ११ वटा विद्युत् आयोजना वैदेशिक लगानीकर्तासमक्ष प्रस्तुत गरेर उक्त परिमाणमा लगानी जुटाउने लक्ष्य राखिएको हो । ती आयोजनाको कुल जडित क्षमता ६ हजार २ सय मेगावाट हो । [&hellip;]</p>

काठमाडौँ । सरकारले काठमाडौंमा हुने लगानी सम्मेलनबाट जलविद्युत् क्षेत्रमा मात्र साढे १२ खर्ब रुपैयाँ लगानी जुटाउने तयारी गरेको छ ।

लगानी बोर्डले सरकारी ठूला ८ आयोजना र निजी क्षेत्रबाट प्रस्तावित ११ वटा विद्युत् आयोजना वैदेशिक लगानीकर्तासमक्ष प्रस्तुत गरेर उक्त परिमाणमा लगानी जुटाउने लक्ष्य राखिएको हो । ती आयोजनाको कुल जडित क्षमता ६ हजार २ सय मेगावाट हो । सम्मेलन आउँदो शुक्रबार र शनिबार हुँदै छ ।

लगानी बोर्डले ८ वटा सरकारी जलविद्युत् आयोजना विकास गर्न करिब १० खर्ब रुपैयाँ चाहिने अनुमान गरेको छ । ती ८ आयोजनाको कुल जडित क्षमता ५ हजार १ सय १५ मेगावाट हो । ती आयोजनामध्ये ६ वटा जलाशययुक्त तथा दुइटा फुकोट कर्णाली र लोअर अरुण नदीको प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिका आयोजना हुन् । ८ आयोजनामध्ये ६ वटा ५ सय मेगावाटभन्दा बढी क्षमताका छन् भने फुकोट कर्णाली र नलसिंगाढ आयोजना ५ सय भन्दा कम मेगावाटका हुन् ।

लगानी सम्मेलनका क्रममा नेपाली प्रवर्द्धकले आफूले अध्ययन र उत्पादन अनुमतिपत्र लिएका ११ आयोजना वैदेशिक लगानीकर्तासमक्ष प्रस्तुत गरी डेढ खर्ब रुपैयाँ वैदेशिक लगानी जुटाउने लक्ष्य राखेका छन् । ती ११ आयोजनाको कुल विद्युत् उत्पादन क्षमता ८८७ मेगावाट र अनुमानित लागत एक खर्ब ५६ अर्ब रुपैयाँ छ ।

सरकार, लगानी बोर्ड र नेपाली निजी क्षेत्रले ती आयोजना सम्मेलनमा आउने वैदेशिक लगानीकर्तासमक्ष प्रस्तुत गर्ने र विश्वास जितेर लगानी जुटाउने प्रयास गर्ने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । ‘अध्ययन आधारमा नाफामूलक देखिएका आयोजना राखेका छौं,’ उनले भने, ‘क्षमता नभएका कम्पनी नआऊन् भनेर पनि मापदण्ड बनाएका छौं ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Share News