काठमाडौं । सेयर लगानीकर्ता दबाब समूहले आइतबार गरकाे आन्दोलनप्रति नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले खेद प्रकट गरेको छ । यूनियनले सोमबार एक विज्ञप्ति जारी गर्दै लगानीकर्ताले आइतबार अर्थमन्त्रालय, बोर्डका पदाधिकारी लगायत कर्मचारीहरुलाई दुव्र्यवहार एवं मानमर्दन गरेको भन्दै गम्भिर खेद व्यक्त गरेको हो ।
आइतबार बोर्डमा अकस्मात भएको तालाबन्दी तथा त्यसपछि बोर्डका कर्मचारीहरुलाई कार्य सम्पादनको क्रममा दबाब समूह नामका केही व्यक्तिहरुबाट जीउधन माथि धम्की तथा गम्भिर लान्छना लगाउने कामबाट यूनियनले रोष प्रकट गरेको विज्ञप्तिमा जनाइएको छ ।
साथै, बोर्ड तथा बोर्डका कर्मचारीहरुबाट कुनै अनियमितता तथा साधन स्रोतको दुरुपयोग गरेको पाइएमा कानूनद्धारा स्थापित राज्यका निकायहरुद्धारा आवश्यक कारवाही गर्ने कानुनी व्यवस्था रहेको यूनियनले बताएको छ ।
यसका साथै, यूनियनले दबाब समूहका अमर्यादित क्रियाकलापहरुप्रति घोर आपत्ति प्रकट गर्दै बोर्डको सम्पत्ति तथा कर्मचारीको जीउधनको सुरक्षाप्रति गम्भिर हुन बोर्ड व्यवस्थापन तथा नेपाल सरकारलाई आग्रह गरेको छ ।