रोल्पा । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै आशंका र भयमिश्रित प्रश्न उठ्यो– के यो अर्को द्वन्द्वको विजारोपण हो ? सामाजिक सञ्जाल, चिया पसल, मिडिया सर्वत्र उठेको यो प्रश्नले कुनै बखत माओवादी विद्रोहको केन्द्र मध्यपश्चिमी जिल्ला रोल्पालाई नछुुने कुरै भएन ।
सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने घोषणा गरेलगत्तै गरिएको रोल्पा भ्रमणमा हामीले त्यहाँका जनताको मनस्थिति बुझ्ने प्रयास गर्यौं । स्थानीयलाई सोध्यौं, ‘के फेरि रोल्पामा माओवादीले गरेजस्तै विद्रोह विप्लव नेतृत्वको नेकपाले गर्न सक्ला ?’ आम रोल्पाली यति बेला त्रसित छन् । एकातिर द्वन्द्व हुने हो कि भन्ने झिनो त्रास छ भने अर्कोतिर उनीहरु अनिच्छापूर्वक दिइनुपर्ने चन्दाको मारमा छन् ।
सदरमुकाम लिवाङ, घर्तीगाउँ, इरिवाङ, कोर्चावाङ, कुरेली, मिरुल, थवाङ, तिला, होलेरी आदि गाउँमा भेटिएका अधिकांश मानिस त्यो तहको द्वन्द्व होला भन्ने ठान्दैनन् । तर दैनिक जीवन बिथोलिने गरी समाज हिंसामै फर्किने हो कि भनेर त्रसित भने छन् । माडी गाउँपालिका कोर्चावाङ, मिनहीमा होटल व्यवसाय गरिरहेकी भीमा पुनले दिएको प्रतिक्रियामा यस्तै त्रास भेटिन्छ । ‘हिजो द्वन्द्वका बेला माओवादीलाई पालियो कर तिरियो, अब विप्लवलाई तिर्नुपर्ला’, उनी भन्छिन्, ‘विप्लवले जनतालाई पेल्ने हो, पुलिसले पनि माओवादी पाल्यो भनेर हामीलाई नै पेल्ने त हो ।’
उनले होटल व्यवसाय गर्न थालेको १४ वर्ष भयो। द्वन्द्वकालमा उनी तिला गाविसमा होटल चलाउँथिन्। अहिले कोर्चावाङमा आएकी छन्। उनले सुरुमा होटल सुरु गर्दा सडक बनिसकेको थिएन । त्यति बेला उनी पाउरोटी, दुनोट बनाएर बेच्थिन् । घोडा, खच्चर लिएर आउने व्यापारी उनका ग्राहक हुन्थे । अहिले सडक खुलेपछि मोटरचालक र यात्रुु उनका ग्राहक भएका छन् । विगतको द्वन्द्वका नमिठा स्मृति छन् उनीसँग । ‘छोराछोरी सानै थिए, कर र चन्दा दिएर माओवादीलाई सहयोग गरियो । अब त छोराछोरीलाई बन्दुक नै बोकाउँछन् कि’, उनी चिन्ता गर्छिन् । आजको नागरिक दैनिकमा समाचार छ ।