
काठमाडौं । तनहुँको बन्दीपुरमा एक वर्षभित्रै केबलकार सञ्चालनमा आउने भएको छ । १६ सय मिटर लम्बाइको केबलकार र पर्यटकीय स्तरीय होटल एक वर्षभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेकाे छ ।
बन्दीपुरमा निर्माण शुरु गरिएको केबलकार र होटल निर्माणको काम धमाधम भैरहेको छ । बन्दीपुर केबलकार प्रालि, आरकेडी रियल स्टेट कम्पनी र पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडको करिब ९० करोड लगानीमा केबलकार निर्माणको काम भैरहेको छ ।
बन्दीपुर केबलकार कम्पनीका अध्यक्ष तारानाथ उपाध्यायले १६ सय मिटर केबलकारको आउन जान ५ सय रुपैंयाँ तोकिएको जानकारी दिए । कम्पनीले बन्दीपुर आसपासका जनतालाई सात हजार ५०० तिरेपछि १० वर्षसम्म केबलकारको सेवा प्रदान गर्ने घोषणा समेत गरिसकेको छ ।
पृथ्वीराजमार्गको बन्दीपुर गाउँपालिका–४ स्थित ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट घण्टामा २०० जनाले वारपार गर्न सक्नेछन् । डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किमी उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबलकार निर्माण भएपछि ९ मिनेटमा बन्दीपुर पुग्न सकिनेछ ।
५६ करोडको लागतमा निर्माण हुने केबलकारमा दुई सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछन् । करीब १५ महिनामा निर्माण सक्ने लक्ष्य राखिएको केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । अहिले केबलकारको ‘रिटेनिङ वाल’ र जगको काम भइरहेको छ ।
कम्पनीलाई पब्लिक कम्पनीका रुपमा विकास गरी जनताको अपनत्व बढाइने आरकेडी रियल स्टेट कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । कम्पनीले केबलकारमा स्थानीयका लागि ११ करोड २० लाखको शेयर छुट्याएको छ ।
उनका अनुसार पत्रकारिता क्षेत्रबाट केबलकार प्रवद्र्धनमा सहयोग पु¥याउने तीन जना पत्रकारलाई वार्षिकरुपमा एक/एक लाखको शेयरमार्फत सम्मान गरिनेछ । त्यस्तै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत एक जना समाजसेवीलाई समेत प्रत्येक वर्ष एक लाख शेयरले सम्मानित गर्ने कम्पनीको योजना छ ।