
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि कर्णाली एक्स्पो शुरु भएको छ । समृद्ध कर्णाली अभियानको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा कर्णाली प्रदेशको प्राकृतिक, सामाजिक तथा सांस्कृतिक पक्षलाई राष्ट्रमा चिनाउने उद्देश्यले केन्द्रीय राजधानी काठमाडौंमा उक्त प्रदर्शनी आयोजना गरिएको हो ।
कर्णाली प्रदेश सरकारले यो वर्षलाई वर्यटन बर्षको रुपमा मनाइरहँदा कर्णालीका त्यस्ता सम्पदाहरुको प्रवद्र्धनको लागि गरिएको त्यस्ता कार्यक्रमहरु फलदायी हुने विश्वास आयोजकले लिएको छ । एक्स्पोका लागि प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र कर्णालीका नगरपालिका तथा गाँउपालिका तथा निजी संस्थाको सहकार्य भएको बताइएको छ । उक्त प्रदर्शनीमा १ लाख अवलोकनकर्ताको सहभागी हुने लक्ष्य लिइएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले कर्णालीबासीहरु सुनको सिरानी हालेर सुत्ने तर नुनको खोजीमा भौतारिनुपर्ने अवस्था रहेको भन्दै उपलब्ध प्राकृतिक स्रोतहरुको समुचित प्रयोगद्धारा कर्णालीले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताए ।
कार्यक्रममा विशेष अतिथिको रुपमा रहेका पूर्व उर्जामन्त्री जनार्दन शर्माले कर्णाली प्रदेशको उत्पादन तथा संस्कृति एवं प्राकृतिक स्रोतहरुको प्रदर्शनीले कर्णाली प्रदेश चिनाउन थप सहयोग भएको गर्ने बताए ।
त्यस्तै, कर्णाली प्रदेशका पर्यटन, वन, वातावरण तथा उद्योग मन्त्री नन्दसिंह बुढाले कर्णालीलाई गरिबहरुको प्रदेशको रुपमा नभई अन्य प्रदेशसरह सबृद्ध बनाउन आफुहरु लागिपरेको बताए ।
कर्णाली अभियानका संयोजक उपेन्द्र शाहीले कर्णालीको अपुरो पक्षहरुलाई पुरा गर्नका लागि साथै कर्णालीवासीमा आत्मविश्वास जगाउन क्रममा उक्त एक्स्पो आयोजना गरेको समृद्ध बताए ।
कर्णालीका सकारात्मक पाटाहरुलाई सबैसामु ल्याउने उद्देश्यले कार्यक्रममा ‘कर्णाली प्रदेश विगत, वर्तमान समृद्धिका सम्भावना’ नामक पुस्तक विमोचन गरिएको थियो । गोरखनाथ बोगटीले लेखेको उक्त पुस्तकमा कर्णाली भित्र रहेका कुरालाई उक्त पुस्तक उतारेका छन् ।
कार्यक्रममा कर्णाली भित्रका १० वटै जिल्लाका प्राकृतिक तथा सम्पदाहरु तथा त्यहाँका मौलिक एवम् अर्गानिक उत्पादन उत्पादनलाई प्रदर्शनमा राखिएको छ ।
एक्सपोमा ३२ वटा स्टल रहेका छन् जसमध्ये कर्णालीको ४ वटा अर्गानिक खानाको स्टल र १ बेकरी समेत छ । कर्णालीका मौलिक सांस्कृतिक, प्रांगारिक कृषि प्रदर्शन, रैथाने खानाको परिकारहरु, खसभाषा र सभ्यताको सत्र, कर्णाली प्रदेशका अमूल्य प्राकृति सम्पदा एवंम बहुमूल्य जडिबुटीको फोटो, भिडियो र सन्दर्भ सामाग्रीहरुको प्रदर्शनी र निजी क्षेत्रका स्टलहरु एक्स्पो पहिचानका वस्तुहरु रहेको आयोजकले जानकारी दिएका छन् ।