
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ती लिन शेखर बरालको दौडदूप चलेको छ । लुम्बिनी जनरल इन्स्योरेन्समा हुँदा गलत काम गरी बीमा समितिले कारवाही गरेको र कार्यसम्पादन कमजोर भएपछि कार्यकाल पूरा नहुँदै यूनाईटेड इन्स्योरेन्स कम्पनीले हटाएको तत्कालिन प्रमुख कार्यकारी अधिकृत शेखर बराल विगत ८ महिनादेखि खाली छन् ।
६ महिनाको कुलिङ पिरेड सकिएपछि प्रमुख कार्यकारी अधिकृत पद खाली भएका कम्पनी तथा कमजोर प्रफमेन्स भएको कम्पनीका सञ्चालकहरुसँग उनको भेटघाट बाक्लिएको छ । यहि क्रममा बरालले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक तथा डोमिनेन्ट प्रमोटरहरुसँगको पटक पटक भेटका छन् ।
उनले जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटलाई निशाना बनाएका छन् । कम्पनीको पर्फमेन्स कमजोर रहेको र उमेरले बुढा भएको भन्दै बरालले टमोटको विरोधी चुक्ली लगाउँदै सञ्चालक र प्रमोटरसँग आफ्नो पक्षमा लविङ शुरु गरिरहेको स्रोतले जानकारी दियो ।
यसअघि युनाईटेड इन्स्योरन्स कम्पनीमा सिनियर कन्सल्टेन्सको रुपमा कार्यरत टमोटको जागिर पनि बरालले नै खाईदिएका थिए । तत्कालिन प्रमुख कार्यकारी अधिकृत विरबिक्रम रायमाझीको पालामा टमोटलाई कन्सल्टेन्टको रुपमा कम्पनीले नियुक्त गरेको थियो । रायमाझीले राजीनामा दिएपछि यूनाईटेडमा सीईओ बनेका बरालले टमोटको जागिर खोसेका थिए ।
प्रमुख कार्यकारी अधिकृत हुँदा बरालले युटाईटेड इन्स्योरेन्स कम्पनीलाई तहसनहस बनाएपछि सञ्चालक समितिले करार अवधि समाप्त नहुँदै बरालको राजीनामा मागेको थियो । बरालले गत असारमा युनाईटेड इन्स्योरेन्समा पद त्याग गरेका थिए ।
बराल त्यसअघि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको कार्यकारी प्रमुख थिए । फेसेज लाउन्ज एण्ड रेष्टुरेण्टमा भएको लागलागीको दावी भुक्तानीको क्रममा रेष्टुरेन्टका मालिकसँग मिलोमत्तो गरी इन्स्योरेन्स कम्पनीलाई नोक्सान हुने गरी भुक्तानी दिएको भन्दै बराललाई बीमा समितिले कारवाही गरेको थियो ।

उक्त कारोबारमा कम्पनीलाई ३८ लाख रुपैयाँ नोक्सान गराएको भन्दै बीमा समितिले सीईओ बराल, सञ्चालक सदस्य र दावी उपसमिति संयोजक चिन्तामणी भट्टराईबाट उक्त रकम असुल गर्न निर्देशन दिएको थियो ।
बीमा कभर नभएको सम्पत्ति आगलागीबाट नस्ट भएको तर बरालले रेष्टुरेन्टमा मालिक र सर्भेयर सूर्यप्रसाद जोशीसँगको मिलोमत्तोमा नक्कली कागजपत्र बनाएर ३८ लाख रुपैयाँ दावी भुक्तानी गरेको बीमा समितिको ठहर छ ।
समितिको निर्णय विरुद्ध बरालसहित लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले उच्च अदालतमा मुद्दा हालेका थिए । उच्च अदालतमा उनीहरुले मुद्दा हारेका छन् र सर्वोच्च अदालतमा पुनारावेदन गराएका छ ।

साथै, समितिले बराललाई १० हजार रुपैयाँ जरिवाना गरेको थियो । बीमकको संस्थागत सुशासन निर्देशिका अनुसार बीमा समितिले कारवाही गरेको व्यक्ति कुनै पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन अयोग्य ठहरिन्छ । यस्तो अवस्थामा जनरल इन्स्योरेन्स कम्पनीले बराललाई सीईओ बनायो भने बीमा समितिले स्वीकृत देला वा नदेला ? बीमा समितिले कारवाही गरेको व्यक्ति योग्य बन्छन् वा अयोग्य ? बीमा क्षेत्रमा प्रश्न उठ्न थालेको छ । त्यसो त बीमा समितिले कारवाही गरेको अन्य पात्रहरु पनि बीमा कम्पनीको सीईओ तथा डिजीएम भएर काम गरिरहेको पाईएको छ ।