काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारका परिवारलाई पब्लिक कम्पनीहरुको प्राथमिक सेयर निष्काशन(आइपीओ)मा ५ प्रतिशत आरक्षण प्रस्ताव गरिएको छ । श्रम मन्त्रालयले गठन गरेको औपचारिक माध्यमबाट विप्रेषण भित्र्याई उत्पादन मुलक क्षेत्रमा उपयोग गर्ने बिषयमा सुझाव पेश गर्न गठित कार्यदलले पेश गरेको प्रतिवेदनले वैदेशिक रोजगारीमा जाने कामदारका परिवारलाई आइपीओमा ५ प्रतिशत आरक्षण प्रस्ताव गरेको हो ।

‘वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार वा निजका परिवारका सदस्यहरुले आवेदन गर्न पाउने गरि विभिन्न कम्पनीका प्राथमिक सेयरको ५ प्रतिशत हिस्सा उनीहरुका निम्ति आरक्षण गर्न उपयुक्त हुने’, प्रतिवेदनमा लेखिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश्वर दाहालको संयोजकत्वमा गठित समितिले ७ महिना लगाएर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनले सर्वेक्षण अध्ययन भईसकेका परियोजनाहरुको परियोजना बैंक बनाउने र त्यस्ता परियोजनाको लागत जुटाउन विप्रेषणकर्ताले स्वेच्छिक रुपमा सेयर लगानी गर्न पाउने व्यवस्था गर्न पनि सुझाव दिएको छ ।
विप्रेषण कर्ताहरुको संयुक्त योगदान रहने गरि स्थानीय तहमा विप्रेषण कोषको स्थापना गरि स्थानीय तहमा प्राथमिकता प्राप्त परियोजनाहरुमा लगानी गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ ।