काठमाडौँ । विभिन्न मित्रराष्ट्रहरुका लागि नियुक्त भएका राजदूतहरु एवं नेपाल उद्योग परिसंघका पदाधिकारीहरु एवं कार्यसमितिका सदस्यहरु भेटघाट एवं छलफल कार्यक्रम सम्पन्न भएको छ ।
भारत, इजरायल, मलेसिया, युएई, फ्रान्स, कुवेत, क्यानडा र थाइल्याण्ड तथा संयुक्त राष्ट्रसंघका लागि नियुक्त भएका राजदूतहरुको स्वागत गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकमा राजनीतिक स्थिरता आएसँगै वर्तमान सरकारले आर्थिक समृद्धि र लगानी विस्तारमा विशेष जोड दिदै लगानीमैत्री कानुनहरुको तर्जुमा गरेको वर्तमान स्थितिमा नवनियुक्त राजदूतहरुको भूमिका समेत फेरिएको आफूले महशूस गरेको विचार व्यक्त गरे ।
छलफलको क्रममा अध्यक्ष शर्माले सम्बन्धित देश र नेपालको निजी क्षेत्र बीचको सहकार्य र सम्बन्ध विस्तारमा राजदूतहरुले आफ्नो मूख्य लक्ष्य र योजना सहित परिसंघ जस्ता संस्थाहरुको सहयोग र सहकार्यमा जुट्न सकेको खण्डमा नेपालमा लगानी वृद्धिमा सहयोग पुग्ने विश्वास लिएको बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले आर्थिक कुटनीतिकको वर्तमान सन्दर्भमा राजदूतहरुको भूमिका राजनीतिक कुटनीति मात्र नभई बजार प्रतिनिधिको समेत हुनुपर्ने कुरामा जोड दिए । अबको कुटनीति निजी क्षेत्रसँगको सहकार्य, समझदारी र संलग्नताको अभावमा सफल नहुने भएकोले नवनियुक्त राजदूतहरुले यस विषयमा विशेष प्राथमिकता दिइ कार्ययोजना बनाउनु पर्ने उनले बताए ।
छलफलको क्रममा भारतका लागि नवनियुक्त राजदूत निलम्बर आचार्यले अबको दूतावासहरुले व्यवसायमैत्री सम्पर्क र युवा उद्यमीहरुलाई प्रोत्साहन दिने कार्यक्रम ल्याई अघि बढ्नु पर्ने विषयमा जोड दिए ।
उक्त छलफल कार्यक्रममा नवनियुक्त राजदूतहरु अञ्जन शाक्य (इजरायल), उदयराज पाण्डे (मलेसिया), कृष्णप्रसाद ढकाल (यूएइ), दिपक अधिकारी (फ्रान्स), दूर्गाप्रसाद भण्डारी (कुवेत), भृगु ढुङ्गाना (क्यानडा), गणेशप्रसाद ढकाल (थाइल्याण्ड), मणीप्रसाद भट्टराई (यूएन, जेनेभा) र अमृतबहादुर राई (यूएन, न्यूयोर्क) ले नेपालमा लगानी भित्र्याउने एवम् नेपालको लगानीमैत्री वातावरणबारे पैरवी गर्नेमा आ-आफ्नो तहबाट निजी क्षेत्रसँग सहकार्य र सम्बन्ध विस्तारमा प्रयासरत रहने विश्वास व्यक्त गरेका थिए ।