काठमाडौं । प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पार्टी अध्यक्ष प्रचण्डको धारणा नै सरकारको धारणा नभएको स्पष्ट पारेका छन् । भेनेजुयला प्रकरणमा नेकपा अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको धारणा सरकारको धारणा हुन नसक्ने उनले स्पष्ट पारेका हुन् । राजधानीमा आयोजीत एक कार्यक्रममा उनले पार्टी र सरकारको आ आफ्नै सीमा र मर्यादा हुने भएकाले कतिपय पार्टीको धारणलाई सरकारकै आधिकारिक धारणाकै रुपमा बुझ्न नहुने विचार बताए ।
डा. भट्टराईले सरकार संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नताको सिद्धान्त, पञ्चशीलका सिद्धान्तमा रहेर बनेको विदेश नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशमा आन्तरिक समस्या आउँदा त्यसको समाधानका लागि निर्णय गर्ने अधिकार त्यहि देशका जनताले पाउनुपर्छ भन्ने धारण नै सरकारको आधिकारिक धारणा रहेको बताए ।
उनले नेपालको अमेरिकासँग निकै लामो समयदेखि बहुआयमिक र गहिरो सम्बन्ध भएकाले कुनै विषयमा सामान्य मतान्तर रहेपनि त्यसले सदियौ देखिको सुमधुर सम्बन्धमा चिसोपना नआउने बताए ।