काठमाडौँ । इटालियन निर्माण कम्पनी सिएमसीसंगको मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का माघ २० गते रद्द हुने भएको छ । ठेक्का रद्द भएसँगै निर्माण कम्पनी सिएमसीको २ अर्ब २१ करोड रुपैयाँ जफत हुने भएको छ ।
प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले सोमबार आयोजना गरेको छलफल कार्यक्रममा मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्य कँडेलले सो कुरा बताएका हुन् ।
समितिको छलफलमा उनले भने-माघ २० गते सिएमसीसँग ठेक्का तोडेको पत्र लेख्छौं । ठेक्का तोडेपछि माघ २० बाट अर्को प्रक्रिया आरम्भ हुने हुन्छ ।
मेलम्चीमा अहिले काम गरिरहेका सहायक ठेकेदारबाट नै बाँकी काम गराउने आयोजना प्रमुख कँडेलले बताए । नयाँ ठेक्का लगाउने अवस्था छैन, त्यसो गरियो भने निर्माण सम्पन्न हुन २ वर्ष लाग्छ – उनले बताए ।



